नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक — OSNepal

नबिलले गाभ्ने भयो नेपाल बङ्गलादेश बैंक

LC (KTM) January 13, 2022 0

काठमाडौँ, २९ पुस =अन्ततः नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने भएको छ । आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर ४३ कित्ता हुने गरी समझदारी भएको छ । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार ललितपुरस्थित एक होटलमा आज प्राप्तिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नबिलका तर्फबाट उदयकृष्ण उपाध्याय र नेपाल बङ्गलादेश बैंकका तर्पmबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ । बङ्गलादेशको आइएफआइसी बैंकको ४१ प्रतिशत बराबरको शेयर स्वामित्वका विषयमा लामो समयदेखि कुरा मिल्न सकेको थिएन । सो बैंकको शेयर अब उद्योगपति विनोद चौधरीको परिवारले खरिद गर्ने भएको छ ।

समझदारीसम्बन्धी जानकारी शुक्रबार नेपाल राष्ट्र बैंकलाई गराउने तयारी गरिएको छ । बैंक तथा वित्तीय संस्थाको सङ्ख्या कम गर्ने केन्द्रीय बैंकको नीतिलाई कार्यान्वयन गर्दै नबिलले नेपाल बङ्गलादेश बैंक प्राप्ति गर्न लागेको हो । यसअघि ग्लोबल आइएमई बैंकले जनता बैंकलाई प्राप्ति गरेको थियो ।वित्तीय स्थिरताका लागि बैंक तथा वित्तीय संस्थाका सङ्ख्या कम गर्ने नीति केन्द्रीय बैंकले लगातार अगाडि बढाइरहेको छ । सोही नीतिअनुसार प्राप्ति गर्नेलाई विशेष सुविधा प्रदान गर्ने व्यवस्था गरिएको छ । पूर्वगभर्नर चिरञ्जीवी नेपालको कार्यकालमा ग्लोबल र जनता बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार गरेको थियो ।

प्राप्त जानकारीअनुसार दुई बैंक एकआपसमा गाभिएपछि बैंकको कुल चुक्ता पुँजी रु २२ अर्ब ८३ करोड बराबर पुग्नेछ । हाल नबिल बैंकको चुक्ता पुँजी रु १३ अर्ब ८४ करोड रहेको छ भने नेपाल बङ्गलादेश बैंकको रु नौ अर्ब चार करोड छ । गत आवको नाफाबाट नबिलले ३३.६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ भने नेपाल बङ्गलादेश बैंकले १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यस आधारमा लाभांशपछि बैंकको चुक्ता पुँजी रु २२ अर्ब ८३ करोड पुग्नेछ । प्राप्तिपछि नबिल बैंकको निक्षेप रु तीन खर्ब नौ अर्ब बराबर पुग्नेछ भने कर्जा रु दुई खर्ब ८८ अर्ब पुग्नेछ । हाल नबिल बैंकको शाखा १३५ वटा छन् भने एटिमएम १८५ वटा छन् ।

यस्तै नेपाल बङ्गलादेश बैंकको शाखा ९९ वटा र एटिएम ८१ वटा छन् । नबिलले प्राप्ति गरेपछि बैंकको नाम नबिल बैंक नै रहनेछ । कर्मचारी व्यवस्थापन तथा अन्य केही प्राविधिक विषय भने टुङ्गो लगाउन बाँकी छ । यस्तै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच पनि मर्जरको प्रक्रिया धेरै अगाडि बढिसकेको छ । (रासस) :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर