पुराना कर्मचारीलाई हटाएर नयाँलाई तालिम दिन थालेपछि रोक्न माग गर्दै प्रजिअलाई ज्ञापनपत्र — OSNepal

पुराना कर्मचारीलाई हटाएर नयाँलाई तालिम दिन थालेपछि रोक्न माग गर्दै प्रजिअलाई ज्ञापनपत्र

LC (KTM) January 13, 2022 0

जनकपुरधाम, २९ पुस -नेपाल रेल्वे कम्पनीले तालिम लिएका पुराना कर्मचारीलाई हटाएर नयाँ कर्मचारीलाई दिइरहेको तालिमलाई रोक्न धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।विगतमा तालिम लिई एक महिनाभन्दा बढी दिनसम्म काम गरिसकेका कर्मचारीहरुले बिहीबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् । पुराना रेल्वे कर्मचारी संघर्ष समितिले नयाँ कर्मचारीको तालिम स्थगित गरी सात दिनभित्र उनीहरुलाई नहटाइए चरणवद्ध आन्दोलन गर्ने ज्ञापन पत्रमा चेतावनी समेत दिएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले दैनिक ज्यालादारीमा भर्ना भएका पुराना कर्मचारीलाई हटाएर आफ्ना नजिकका नयाँ ५५ जनालाई गुपचुपमा नयाँ कर्मचारीमा नियुक्त गरि तालिम दिएपछि पुरानो कर्मचारीहरु आन्दोलित भएका हुन् ।

प्रजिअ पौडेलले ज्ञापन पत्र बुझ्दै पूर्व कर्मचारीलाई अदालत र श्रम कार्यालयमा न्यायका लागि गुहार गर्न आग्रह गरेका थिए । संविधानले दिएको अधिकारलाई प्रयोग गरि आन्दोलन गरेको खण्डमा प्रहरी प्रशासनले समेत केही अवरोध गर्न नसक्ने भन्दै प्रमुख जिल्ला अधिकारीले ज्ञापनपत्र बारे सरोकारवाला निकायलाई जानकारी गराउन बताए ।

रेल्वेले गेट म्यान, ग्यांग म्यान, ग्याङ म्यान इन्चार्ज, प्वाइन्ट म्यान, कि म्यान र स्टेशन मास्टरका नियुक्त गरेका ५५ जना नयाँ कर्मचारीलाई तालिम दिए रहेको छ । उनीहरुलाई भारतीय रेल्वे कम्पनीका प्रशिक्षकहरुले तालिम दिइरहेको रेल्वेले जनाएको छ । यस अघि रेल सम्बन्धि १५१ जना कर्मचारीलाई तालिम दिँदा रेल्वेको १ करोड १५ लाख खर्च भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर