पीएम कपः विक्रमको उत्कृष्ट प्रदर्शनसँगै आर्मीको दोस्रो जित — OSNepal

पीएम कपः विक्रमको उत्कृष्ट प्रदर्शनसँगै आर्मीको दोस्रो जित

LC (KTM) January 14, 2022 0

काठमाडौं, ३० पुस – विक्रम सोबको उत्कृष्ट प्रदर्शन प्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

शुक्रबार मुलपानीको माथिल्लो मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशलाइ ३ विकेटले पराजित गर्दै आर्मीले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

११६ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२० रन बनाएको हो । आर्मीका हरि चौहानले सर्वाधिक ३३ रन बनाए । चार चौका हिर्काएका हरिले ३९ बल खेलेका थिए ।

यस्तै विक्रम सोबले २९ रन बनाए । २२ बलको सामना गरेका विक्रमले एक चौका र दुई छक्का प्रहार गरे । यस्तै भीम सार्कीले १३ रन बनाउँदा शाहब आलमले १२ तथा कुशल मल्लले ११ रन बनाए ।

सुदूरपश्चिमका आदित्य महताले चार विकेट लिए । चार ओभर बलिङ गरेका आदित्यले १४ रन खर्चिए । यस्तै हेमन्त धामी, नारायण जोशी र शेर मल्लले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो ।

सुदूरपश्चिमको लागि खडक बोहराले सर्वाधिक ३७ रन बनाए । यस्तै वसन्त कार्कीले ३४ रन बनाउँदा विकेट किपर समेत रहेका अर्जुन साउदले १५ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक बनाउँन सकेनन् ।

सुदूरपश्चिमका दुई खेलाडी शुन्यमा आउट भएका थिए । सुदूरपश्चिमलाई सस्तैमा समेट्न आर्मीका विक्रम सोबले सर्वाधिक ६ विकेट लिए । चार ओभर बलिङ गरेका विक्रमले आठ रन मात्रै खर्चिएका थिए ।

यस्तै कुशल मल्ल, शाहब आलम र हरि चौहानले समान १ विकेट लिए । जितसँगै आर्मीले दोस्रो स्थानमा रहँदै सेमिफाइनल सम्भावना कायम राखेको छ । आर्मीको तीन खेलबाट ५ अंक रहेको छ । यता, सुदूरपश्चिमको भने तीन खेलबाट दुई अंक रहको छ र तेस्रो स्थानमा छ ।

समूह ‘ए’ मा तीन खेलमा शत प्रतिशत जितसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहँदै एक खेलअघि नै सेमिफाइनल यात्रा तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर