हलेसीको दोस्रो रुप त्रिपुरेश्वर महादेवस्थल पर्यटकको पर्खाइमा ,गुफाभित्र गाईका थुन, नाग र हात्ती देख्न पाईन्छ – OSNepal

हलेसीको दोस्रो रुप त्रिपुरेश्वर महादेवस्थल पर्यटकको पर्खाइमा ,गुफाभित्र गाईका थुन, नाग र हात्ती देख्न पाईन्छ

LC (KTM) January 14, 2022 0

भोजपुर, ३० पुस- ‘पूर्वको पशुपति’ खोटाङ हलेसीको दोस्रो रुप त्रिपुरेश्वर महादेवस्थल पर्यटक पर्खेर बसेको छ । पौवादुङ्मा गाउँपालिका –१ तिलाहरमा आजभन्दा ५० वर्षअघि अर्थात् २०२८ सालमा उत्पत्ति भएको यो देवस्थल अहिले संरक्षण र प्रचारप्रसारको पर्खाइमा पनि छ । हसेलीमा जस्तै गुफाभित्रका ढुङ्गामा देवताको अनेक रुप देख्न सकिने सो स्थानबाट कतिपय मूर्ति हराएका छन् ।

शिव, पार्वती, राम, सीता, हनुमान, गौरी, गणेशलगायत देवताका मूर्तिसँगै आश्चर्यजनक गुफासमेत रहेको सो धार्मिकस्थल अहिले इतिहास बन्ने अवस्थामा पुगेको छ । गुफाभित्र गाईका थुन जस्तै देखिने ढुङ्गाका आकृति, नाग र हात्तीका चित्र तथा ढुङ्गामा उत्पत्ति भएको दियोसँगै पोखरीसमेत छ । बयानब्बे वर्षीय स्थानीयवासी गङ्गाबहादुर श्रेष्ठले खोज गर्ने व्यक्तिहरूको देहावसानपछि गुफाको संरक्षण नभएको गुनासो गर्नुभयो । “गुफाभित्र रहेका कतिपय मूर्ति हराए । कति तोडफोड भए । यहाँ देवताका अनेक रूप देख्न सकिन्छ । यसलाई जगेर्ना गर्न कसैको चासो गएन । अहिले यो अवस्थामा आइपुग्यो”, उहाँले भन्नुभयो । सो देवस्थलमा दर्शन गरे सन्तान प्राप्ति हुने, सोचे–चिताएको पुग्ने बताइन्छ । कुनै बालबालिकाको बोली नआएमा यहाँ ल्याएर दर्शन गराए वाक्य फुट्ने बताइन्छ । ‘‘यहाँ आएर दर्शन गरे धेरै कुरा पूरा हुने धार्मिक विश्वास छ । विसं २०३६ अघिसम्म यहाँ दर्शन गर्नेको निकै भिड लाग्थ्यो । अहिले भने यसको महत्व नै हराउँदै गएको छ, जीर्ण बनेको छ ’’, उहाँले भन्नुभयो ।

यहाँ रामनवमी, बालाचतुर्दशी र शिवरात्रिमा मेला लाग्ने गरेको ८६ वर्षीय स्थानीयवासी केशरबहादुर श्रेष्ठले बताउनुभयो । तत्कालीन सशस्त्र द्वन्द्वकालको प्रभावसँगै अधिकांश स्थानीयवासी बसाइँ गएपछि संरक्षणविहीन बनेको उहाँको भनाइ छ । ‘‘धेरैअघिसम्मको यो त्रिपुरेश्वर महादेवस्थल देशमा कहलिएको देवस्थल थियो । यहाँ वर्षमा तीन पटक भव्य मेला लाग्थ्यो । विभिन्न काल, परिस्थितिले यो ठाउँ अहिले ओझेलमा प¥यो, संरक्षण भएन । अहिले कतिपय गुफाका प्वाल थुनिएका छन्’’, श्रेष्ठले भन्नुभयो, ‘‘यहाँ देशभरका मानिससँगै भारतबाट समेत भक्तजन दर्शन गर्न आउँथे । सातदिनसम्म त मेला नै लाथ्यो ।’’

अहिले विगतमा लगाइएका साना ढोका तथा प्रवेशद्वार भत्किएका छन् । देवस्थलको घेराबारा नहुँदा यहाँका विभिन्न ठाउँमा क्षति पुगेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो,‘‘पछिल्लो समय यसको संरक्षणमा ध्यान गएन । स्थानीयवासीले चासो दिएनन् । सरकारी पक्षले पनि ध्यान दिएनन् । अहिले यहाँका धेरै संरचना पुराना स्वरुपमा छैनन् । गुफा मानिसहरूको फोहोर फाल्ने ठाउँ बन्ने अवस्थामा छ तर अहिले स्थानीय युवाको पहलमा केही संरक्षणको काम भएको देख्दा खुुसी लागेको छ ।’’

विसं २०२८ मा यहाँका इच्छाबहादुर श्रेष्ठ र धनपाल तामाङले त्रिपुरेश्वर महादेव पत्ता लगाएको मन्दिरका पुजारी रितबहादुर श्रेष्ठले बताउनुभयो । ‘‘यहाँ देवस्थल छ भन्ने सपनामा देखेपछि उहाँहरूले खोजी गर्नुभयो । सपनामा देखेअनुसार त्यहाँ सानो प्वाल रहेको र त्यसलाई खनेर भित्र गएपछि यो स्थान फेला परेको भनिन्छ”, उहाँले भन्नुभयो,‘‘यस देवस्थलमा क्षति पु¥याउनेहरूको वंश नै विनाश भएको अवस्था पनि छ । कतिपयले संरक्षण नहुँदा घण्टीलगायत महत्वपूर्ण सामग्री चोरेर लगेको र पछि बौलाएपछि फिर्ता पनि गरेका छन् ।’’ यहाँको झाराली गुफामा बुढा सुब्बा, राम, सीता, शिव, पार्वतीलगायत अन्य विभिन्न देवीदेवताको मूर्ति रहेको उहाँले जानकारी दिनुभयो । गुफाभित्र प्राकृतिक रुपमा बनेका दियो, नागको चित्र, गाईको थुनबाट दूध आउने स्थान, पोखरीसँगै ५० जनासम्म बस्न मिल्ने ठाउँ रहेको तथा हलेसीको जस्तै पापद्वार र धर्मद्वार पनि रहेको जनाइएको छ । रीतबहादुरले भन्नुभयो,‘‘ यहाँ हलेसीको जस्तो देवीदेवताका मूर्ति छन् । कतिपय ठाउँमा गुफा २०७२ को भूकम्पका कारण थुनिएको छ । भित्र पोखरी छ तर संरक्षण र प्रचारको अभावमा यो स्थान पछिल्लो समय ओझेलमा प¥यो ।’’

स्थलको विकासका लागि स्थानीयवासीले संरक्षण समिति गठन गरेर काम गरिरहेको बताएका छन् । आफँैले पैसा सङ्कलन गर्दै वडा कार्यालय तथा गाउँपालिकाबाट बजेट माग गरेर संरक्षणको काम थालेको संरक्षण समितिका अध्यक्ष सीताराम श्रेष्ठले बताउनुभयो । अध्यक्ष सीतारामले भन्नुभयो,‘‘ अहिले हामी युवाहरूको अगुवाइमा संरक्षणको काम थालिएको छ । कतिपय पुराना संरचना बिग्रिएका छन् । कतिपय मूर्ति तोडफोड भएका छन् । धेरै पटक हामीले संरक्षणका लागि बजेट माग गरेपछि वडा कार्यालयबाट यस पटक मन्दिर र पाटी निर्माणका लागि रु चार लाख पाएका छौँ ।’’

सरकारी निकायबाट माग गर्दा पनि संरक्षणका लागि बजेट नआएपछि देउसी खेलेर, स्थानीयवासीबाट चन्दा उठाएर संरक्षणमा काम गरिएको सीतारामले बताउनुभयो । ‘‘यो एउटा देशकै पहिचान बोकेको धार्मिकस्थल हो । हामीले यसको संरक्षणका लागि धेरै निकायसँग हारगुहार ग¥यौँ तर साथ पाएनौँ । स्थानीयवासीबाट पैसा उठाएर यहाँसम्म पुग्ने सडकसमेत बनाएका छौँ ’’, उहाँले भन्नुभयो ।

करिब दुई रोपनी क्षेत्रमा रहेको सो देवस्थलको संरक्षणमा अहिले स्थानीय जनता जागरुक छन् । काठमाडौँमा रहेका यहाँका दुई युवा योगेश श्रेष्ठ र प्रमेश तामाङले आफ्नो व्यक्तिगत पैसामा शिवको मूर्ति र १० फिटको त्रिशूल राख्ने काम गरेको स्थानीयवासीले जानकारी दिए । यहाँ घण्टी र ध्वजापताका राख्ने काम पनि भएको संरक्षण अभियानमा जुट्नुभएका योगेशले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य कामसँगै केही समयपछि ५२ केजीको पित्तलको घण्टी र दानपेटिका पनि राखिने छ । योगेशले भन्नुभयो, ‘‘हामी दुई जनाले व्यक्तिगत रुपमा रु एक लाख ५० हजारभन्दा बढीको सहयोग गरेका छौँ । अहिले हामीले यसको संरक्षणका लागि काठमाडौँमा पनि अभियान चलाएका छौँ । विभिन्न क्षेत्रबाट सहयोग सङ्कलन गरेर अब घण्टी र दानपेटिका राख्ने तयारीमा छौँ ।’’

जीर्णावस्थामा पुगेको सो स्थानको संरक्षणसँगै प्रचारप्रसार गर्न सके धार्मिक पर्यटक भित्र्याएर राम्रो आम्दानी लिन सकिने स्थानीयवासी वीरबहादुर तामाङले बताउनुभयो । तामाङले भन्नुभयो,‘‘ यहाँ यति ठूलो देवस्थल छ । यसको संरक्षणसँगै प्रचारप्रसारमा कसैको ध्यान गएन । यसलाई देशविदेशमा चिनाउन सके फूल बेचेर नै स्थानीयवासीले जीवन गुजारा गर्न सक्थे ।’’ यहाँको घेराबारा गर्नका लागि पनि रकम आवश्यक रहेको स्थानीयवासी डम्बरबहादुर श्रेष्ठले बताउनुभयो । ‘पूर्वको त्रिपुरेश्वर’ क्षेत्रमा विद्युत् नपुगेका कारण गुफामा बत्ती जडान गर्न नसकिएको तथा पानीको धारासँगै अन्य आवश्यक संरचना निर्माण गर्न रकम अभाव रहेको स्थानीयवासीले बताएका छन् । यस्ता संरचनाको संरक्षण तथा विकासमा सरकारले सहयोग गर्नुपर्ने उनीहरूको माग छ ।

Leave a Reply

Your email address will not be published.