सपनाको पाइरेसीको कुरा गर्ने ‘चिसो एस्ट्रे’को ‘ड्रिम पाइरेसी’ सार्वजनिक — OSNepal

सपनाको पाइरेसीको कुरा गर्ने ‘चिसो एस्ट्रे’को ‘ड्रिम पाइरेसी’ सार्वजनिक

LC (KTM) January 14, 2022 0

काठमाडौँ -हामी यस्तो समयमा बाँचेका छौँ जहाँ हाम्रा सपना पनि मौलिक छैनन् । हामी अरुले बाँचिरहेका सपना पूरा गर्ने दौडमा छौँ । हामीले बाँचिरहेका यस्तै असंगत सपनाको कथामा बनेको फिल्म ‘चिसो एस्ट्रे’ को गीत सार्वजनिक भएको छ । ‘ड्रिम पाइरेसी’ बोलको गीतले यस्तै पाइरेटेड सपनाहरूको कुरा गर्छ ।

बिहीबार अस्कर इन्टरनेसनल कलेजका विद्यार्थीबीच गीत सार्वजनिक गर्दै गीतका गायक तथा संगीतकार अजर जंगमले गीतले फिल्मको कथालाई अभिव्यक्त गर्ने बताए । ‘हामी अहिले ग्लोब भिलेजमा छौँ जहाँ हामीले देख्ने सपनासमेत आयातित छन् । फिल्ममा चरित्रले यस्तै सपना देख्छन् जुन आफैँमा मौलिक होइनन् । निर्देशक दिनेश पाल्पालीले फिल्मका चरित्रलाई खिपेर शब्द लेख्नु भएको थियो जसलाई मैले संगीत र स्वरद्धारा अभिव्यक्त गर्ने कोशिस गरेको छु,’ अजरले भने । फंक शैलीको गीतमा परम्परागत फिल्ममा जस्तो कलाकार देखिन्नन् । बरु युवा पुस्ताको दैनिकी बनेका चुरोट, कन्भर्स, चश्मा आदिलाई एनिमेसन गरी देखाइएको छ ।

चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई दिन्श पाल्पालीले निर्देशन गरेका हुन् । फिल्मले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेस गर्छ । ‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्म यही दर्शनमा केन्द्रित रहेको छ,’ गीत सार्वजनिक कार्यक्रममा फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले भने ।

उज्जल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह–निर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर