खोपको मात्रा पूरा नहुँदै खोपकार्ड अनिवार्य गरिँदै — OSNepal

खोपको मात्रा पूरा नहुँदै खोपकार्ड अनिवार्य गरिँदै

LC (KTM) January 15, 2022 0

बुटवल, १ माघ-सरकारले ७ माघदेखि लागू हुने गरी सार्वजनिक स्थलमा प्रवेशका लागि खोप कार्ड अनिवार्यकाे घाेषणा गरिसकेकाे छ । तर, लुम्बिनी प्रदेशमा अझै ४३ प्रतिशतले खोपको पूर्ण मात्रा लगाउन पाएका छैनन् । सबै नागरिकलाई पूर्ण मात्रा खोप नदिँदै सरकारले खोपकार्ड अनिवार्य गर्दा व्यवहारिक रुपमा यसको कार्यान्वयन कठिन हुने देखिएको छ ।

भिडभाड बढी हुने रेस्टुराँ, सिनेमाहल, रंगशालाजस्ता स्थानमा पनि खोपकार्ड अनिवार्य गर्ने व्यवस्था गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निकायले निर्देशन दिइसकेकाे छ । तर, दुबै खाेप लगाउन नपाएकाहरु सार्वजनिक सेवा लिनबाट बन्चित हुनसक्ने देखिएको छ ।

कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा ‘हट स्पट’ बनेको लुम्बिनी प्रदेशमा खोपको गति सुस्त छ । प्रदेशभरिमा खोप लगाउन योग्य कुल ३९ लाख ६७ हजार जनामध्ये हालसम्म पूर्ण खोप पाउनेको संख्या १९ लाख २१ हजार २६८ मात्र पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सीमा क्षेत्रबाट ठूलो संख्यामा आउजाउ गर्ने प्रदेशमा खोपको गति भने सुस्त देखिएको छ । हालसम्म पहिलो डोज खोप लगाउनेको संख्या ३१ लाख २९ हजार ३६० रहेको छ भने दुवै मात्रा लगाउनेको संख्या १९ लाख २१ हजार २६८ रहेको छ ।

प्रदेशका १२ वटै जिल्लामा खोप अभियान सञ्चालन भइरहेको छ । केही स्थानीय तहले उमेर समूह अनुसार बालबालिकाबाहेक अन्यलाई खोपका दुवै मात्रा पूरा गरेका छन् । केहीले दोस्रो मात्रा पर्खिरहेका छन् । केहीमा छुटेकाले स्वास्थ्य संस्थामा गए पनि सहजै खोप लगाउन पाएका छैनन् ।

रूपन्देहीको देवदह नगरपालिकाले खोपका लागि योग्य ४३ हजार जनाको तथ्यांक संकलन गरेकोमा ४० हजारले पूर्ण खोप लगाइसकेको स्वास्थ्य संयोजक काशीनाथ बन्जाडेले बताए । अन्यलाई समेत खोप उपलब्ध गराएर छिट्टै पूर्ण खोप लगाउन सफल पालिका घोषणा गरिने उनले दाबी गरे । १८ वर्षभन्दा मुनिका कसैले पनि खोप नलगाएको उनले जनाए ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा हालसम्म ७१ हजारले पहिलो चरणमा खोप लगाएका छन्, जसमध्ये ५६ हजार जनाले पूर्ण खोप लगाएको स्वास्थ्य संयोजक ठगराज पौडेलले बताए । पहिलो मात्रा लगाउने काम पुस १५ गते सकिएको उनले बताए । अझै चार साता पर्खने र अर्को मात्रा लगाइदिने उनले बताए ।

८० हजार जनसंख्या रहेको उक्त पालिकामा खोप लगाउने सुरुवाती दिनमा अत्यन्तै भीड भए पनि अहिले चाप नभएको पौडेलले बताए । १ लाख जना बसोबास रहेको वाणगंगामा पाँच देखि ११ वर्षका बालबालिकालाई स्वास्थ्य मन्त्रालयले दिएपछि र छुटेका व्यक्तिलाई लगाइदिन पालिका तयारी अवस्थामै रहेको उनको भनाइ छ । बाहिरदेखि आएका स्थानीयको एन्टिजेन परीक्षण गरिरहेको उनले जानकारी दिए ।

प्रदेशको पहाडी जिल्ला रुकुम पूर्वको सिस्ने गाउँपालिकामा खोपको दोस्रो डोज लगाउने अभियान जारी छ । स्वास्थ्य कार्यालयमा पहिलेजस्तो भीडभाड छैन । पहिलो डोज करले लगाए पनि दोस्रो लगाउन आउन छोडेको स्वास्थ्य संयोजक सुरेन्द्र यादवले बताए । उनका अनुसार लक्षित संख्या १५ हजार रहेकामा बालबालिका र छिटफुट गरी संख्या बढ्दै जाने अपेक्षा गरिएको छ । पालिकामा भेरोसेल र कोभिसिल्डको पहिलो डोज ११ हजार ५२३ जनाले लगाएका छन् । दोस्रो डोज लगाउने पाँच हजार ३७३ जनामात्रै रहेको यादवले बताए । पहिलो डोज लगाएका मध्ये केही काठमाडौं, केही भारत र केही विदेश नै गइसकेको र गाउँमा भएकाले पनि चासो नदिएको उनले बताए । पालिकामा चैतभित्र सबैलाई खोप लगाइदिने गरी आफूहरू लागिपरेको भन्दै यादवले जनता नै भागेपछि आफूहरूको केही उपाय नलागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर