भगाउन दबाब दिँदा महिलाको हत्या, प्रहरीले सार्वजनिक गर्‍यो प्रेमीसहितका अभियुक्त — OSNepal

भगाउन दबाब दिँदा महिलाको हत्या, प्रहरीले सार्वजनिक गर्‍यो प्रेमीसहितका अभियुक्त

LC (KTM) January 15, 2022 0

सर्लाही, १ माघ – गत २३ पुसमा सर्लाहीको बरहथवामा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

शनिबार पत्रकार सम्मेलन गरेर ईलाका प्रहरी कार्यालय बरहथवाले घटनामा संलग्नहरुलाई सार्वजनिक गरेको हो । गत १७ पुसबाट वेपत्ता भएकी बरहथवा नगरपालिका–१०, निवासी सुरत रामकी श्रीमती ३२ बर्षकी सावित्री कुमारी महराको घरबाट केही टाढा उखुबारीमा शव फेला परेको थियो । मृतक महिलाको शव सोही वडास्थित उखुबारीमा शरीरको विभिन्न भाग जलेको अवस्थामा निवस्त्र फेला परेको हो ।

घटनामा सर्लाहीको हरिवन नगरपालिका–१०, ताइवान टोल बस्ने २७ वर्षका सन्तोष साह, सोही स्थान बस्ने २७ बर्षकै मुकेश ब्लोन र २२ बर्षका रोहित हजरा संलग्न रहेको खुलेको छ । घटनाको सुक्ष्म अनुसन्धानको क्रममा उनीहरुको घटनामा संलग्नता पाहिएको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी उमा शंकर यादवले जानकारी दिए । अनुसन्धानबाट मृतक महिला र अभियुक्त सन्तोष साहबीच केही समययता सम्बन्ध रहेको खुलेको छ ।

सोही सम्बन्धका कारण मृतक महिलाले अभियुक्त सन्तोषलाई आफूलाई भगाउन बारम्बार दबाब दिँदै आएकी थिइन् । विवाहित सन्तोषले भगाउन नसक्ने भएपछि गाउँकै दुई साथीलाई केही पैसा दिने लोभसमेत देखाएर हत्या गरेका प्रहरीले जनाएको हो । प्रहरीले घटनामा प्रयोग भएको एक थान मोटरसाइकल तथा घटनास्थलबाट बरामद भएको सामाग्रीसमेत पत्रकार सम्मेलनको क्रममा सार्वजनिक गरेको छ ।

मृतक महिलाका श्रीमान विगत ८/१० वर्षदेखि कामको सिलसिलामा कतारमा रहेका थिए । उनी २ वर्ष पहिला मात्र नेपाल आएर गएका थिए । उनीहरुको दुई छोरा र एक छोरी गरी तीन सन्तान छन् । मृतक महिलाको १२, ८ र ५ बर्षको सन्तान रहेको पारिवारिक श्रोतले जनाएको छ ।

यसरी भएको थियो घटना

मृतक महिलाका श्रीमान लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका थिए । उनले कमाएको पैसाले उनीहरुले पहिलाको घरबाट केही पर केही जग्गा किनेर घर बनाएका थिए । सोही घरमा मृतक महिला र उन तीन छोराछोरी बस्ने गर्थे । श्रीमान सुरतले विदेशमा कमाएको पैसाले घडेरी किन्ने योजना बनाए । पहिलादेखि नै आफूले कमाएको पैसा श्रीमतीलाई पठाउँदै आएका थिए ।

सुरतकाअनुसार यस पटक पनि विभिन्न समयमा गरेर श्रीमतीलाई दश लाखको हाराहारीमा पैसा पठाइसकेका थिए । जग्गा किन्ने क्रममा जग्गा दलाली गर्ने सन्तोषसँग मृतक महिलाका बुवाको चिनजान भएको थियो । सोही चिनजान श्रीमान सुरत हुँदै मृतक महिलामा आएर जोडिएको थियो । जग्गा किन्न भनेर मृतकले सन्तोषलाई दुई लाख बैनासमेत दिएकी थिइन् ।

यसरी उनीहरुको नियमित भेटघाट र फोन सम्पर्क भएको प्रहरीको भनाइ छ । त्यसपछि उनीहरु नियमित भेट गर्ने विभिन्न काम पर्दा सन्तोष महिलाको घरमा पुग्ने गरेका थिए भने मृतक महिलाका श्रीमानले पठाएको पैसा उनीहरुले खर्च गरेको देखिएको छ । भेटघाटको समय बित्दै जाँदा मृतक महिलाले सन्तोषलाई आफूसँग बिहे गर्न र भगाउन दबाब दिन थालिन् ।

सोही क्रममा केही समय पहिलामात्र सन्तोषको बुवाको मृत्यु भयो । उनी केही समय बुवाको काजक्रियामा ब्यस्त भए । त्यसबाट फेरि उनी दैनिक काममा फर्किएपछि महिलाले विहेका लागि दबाब दिन थालिन् । मृतक महिलाका श्रीमान पनि घर फर्कने दिन नजिकिँदै जाँदा उनलाई तनाव बढ्दै गएको थियो । १७ पुसमा महिलाले फोनमा सन्तोषलाई आफूलाई भगाउन दबाब दिइन् ।

सन्तोषले पनि हुन्छ भनिदिए । त्यसपछि घटनामा संलग्न तिनै जना अभियुक्तहरु एक होटलमा बसेर सँगै मदिरा सेवन गरे । सोही क्रममा सन्तोषले साथीहरुसँग आफ्नो समस्या राख्छन् । साथीहरुले महिलाको हत्या गर्ने उपाय सुझाउँछन् । त्यसपछि सन्तोषले केही पैसा दिने लोभ देखाएर दुई साथीसँग सहयोग माग्छन् । साथीहरुले साथ दिने योजना बनेपछि सन्तोषले आफू लिन आउँदै गरेको बताउँदै राति ८ बजेतिर तयार बस्न महिलालाई आग्रह गर्छन् ।

त्यसपछि उनीहरु महिलाको घरतर्फ हानिन्छन् । पूर्वयोजना बमोजिम सन्तोषले दुई जनालाई कटानीस्थित उखु घारीमा लुकेर बस्न अह्राउँछन् । र आफू मृतक महिलालाई लिन जान्छन् । महिलालाई लिएर आएका सन्तोषले साथीहरुलाई लुकाएको ठाउँ आएपछि पिसाव फेर्ने बहानामा मोटरसाइकल रोकेर उनी उखु घारीतिर लाग्छन् । त्यसलगतै तिनै जना आएर महिलाको मुख र घाटीमा थिचेर हत्या गर्छन् ।

त्यसपछि उनीहरुले शव उखु बारीमा फालि दिन्छन् । घटनाको प्रमाण मेटाउने उद्देश्यले उनीहरुले महिलाको कपडा खोलेर राखी मोटर साइकलबाट बोटलमा पेट्रोल झिक्छन् । सोही पेट्रोल छर्किएर जलाउन खोज्दा उनीहरुँग लाईटर नभएपछि फेरि बरहथवा स्थित बजारमा रहेको एक पसलबाट दुईवटा चुरोट र लाइटर किनेर फेरि महिलाको शव भएको स्थानमा पुग्छन् ।

मोटरसाइकल तयारी अवस्थामा राखेर आगो लगाई उनीहरु त्यहाँबाट फर्कन्छन् । यसरी महिलाको हत्या गरेर जलाएका उनीहरुले महिलासँग रहेको ब्यागसमेत सँगै लगेका हुन्छन् । सो ब्यागसमेत केही वर सोल्टी गेट नजिकै चेक गर्दा पैसा फेला नपरेपछि ब्याग त्यही फालेर उनीहरु घर फर्कन्छन् । उक्त शव स्थानीयले देखेपछि २३ पुसमा प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर परीक्षणको लागि जिल्ला अस्पताल पुर्‍याउँछ ।

घटनाको एक हप्तापछि २४ पुसमा सन्तोष साह र २७ गते अन्य दुई जना मुकेश ब्लोन र रोहित हजरालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीले घटनास्थलबाट महिलाको चप्पल, महिलालले ओढ्ने सललगायत अन्य थुप्रै मेकपका सामान र अनुसन्धानको क्रममा अभियुक्तहरुले प्रयोग गरेको मोबाइल फोन, ना ४५ प ५२०७ नम्बरको रातो कालो २२० सीसीको पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर