सङ्खुवासभाको लोहाकोट र बैतडीको मल्लादेवीमा फलाम अन्वेषण कार्य सुरु — OSNepal

सङ्खुवासभाको लोहाकोट र बैतडीको मल्लादेवीमा फलाम अन्वेषण कार्य सुरु

LC (KTM) January 17, 2022 0

काठमाडौँ, ३ माघ -खानी तथा भूगर्भ विभागले सङ्खुवासभाको लोहाकोट र बैतडीको मल्लादेवीमा फलाम अन्वेषण कार्य सुरु गरेको छ । विभागको टोलीले सङ्खुवासभाको लोहाकोटमा ५० वर्ग किलोमिटर क्षेत्र र बैतडीको मल्लादेवीमा १५ वर्ग किलोमिटर क्षेत्रमा फलाम अन्वेषणको कार्य सुरु गरेको हो ।विभागका महानिर्देशक रामप्रसाद घिमिरेले फलाम रहेको सम्भावित क्षेत्रको अध्ययन गरी ‘म्यापिङ’को कार्य अगाडि बढाएको बताउनुभयो । “ठूलो क्षेत्रफलमा अध्ययन गरेर क्रमशः सानो क्षेत्रफलको अध्ययन गर्नेछौँ”, उहाँले भन्नुभयो । विभागले एक महिनाको फलामको भू–भौतिक अध्ययनका लागि जनशक्तिसमेत खटाईसकेको छ ।

फलामबाहेक उक्त विभागले काभ्रेपलाञ्चोकको फोस्रेडाँडामा ग्रेनाइटको अध्ययन एवम् ‘ड्रिलिङ’ कार्य गरिरहेको छ । महानिर्देशक घिमिरेका अनुसार सिन्धुलीको पहाड तथा कैलालीको खोलामा पाइने ढुङ्गाको समेत अध्ययन गरिएको छ ।विभागले चालू आर्थिक वर्षमा नै देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्वल, बालुवा, तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो ।

खानी तथा भूगर्भ विभागले देशका विभिन्न शहरको भू इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययनको काम समेत गरिरहेको छ । विभागका अनुसार विस २०५२ सालदेखि हालसम्म देशभरका २२ शहरको भू इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययनको काम सम्पन्न भइसकेको छ ।प्रत्येक वर्ष एक शहरको भू इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययनको काम गर्दै आएको विभागले चालू आर्थिक वर्षमा बर्दियाको गुलरीया बजारको भू इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययनको काम सम्पन्न गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर