कोरोना खोप लक्ष्यउन्मुख बुस्टर डोज दिन सुरु — OSNepal

कोरोना खोप लक्ष्यउन्मुख बुस्टर डोज दिन सुरु

LC (KTM) January 17, 2022 0

काठमाडौँ, ३ माघ- सरकारले कोरोना विरुद्धको खोप लक्ष्यउन्मुख जनसङ्ख्यालाई लगाएको छ । छ महिनाअघि बनेको वर्तमान सरकारले नागरिकलाई कोरोनाविरुद्धको खोपलाई प्राथमिकता दिएको थियो र पुस मसान्तसम्म लक्षित समुदायको दुई तिहाइ जनसङ्ख्यालाई खोप दिने लक्ष्य लिएको थियो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले ७९.५ प्रतिशत पहिलो मात्रा र करिब ६१ प्रतिशत पूर्ण मात्राको खोप लगाएको छ । दुई तिहाइ ६६ प्रतिशतमध्ये पहिलो मात्रा लक्ष्य भन्दाबढी अर्थात् ७९.५ प्रतिशत हो भने पूर्ण मात्रा पनि लक्ष्यको नजिक पुगेको छ ।

सरकारले लिएको खोपको लक्ष्यअनुसार कार्यक्रममा सफलता पाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेसम्मको तथ्याङ्क हेर्दा मनाङ, मुस्ताङ र कास्कीमा शतप्रतिशत खोप दिइएको छ । सरकारले पुस मसान्तभित्र लक्ष्य जनसङ्ख्याको दुई तिहाइ र आगामी चैत मसान्तसम्म १६ वर्ष माथिका सबैलाई खोप लगाउने लक्ष्य लिएको छ ।

यता सरकारले अग्रपङ्क्तिमा काम गर्नेलाई ‘बुस्टर’ डोज दिन थालेको छ । यस्तै माघ १४ गतेदेखि ६० बर्षभन्दा माथिका सवै ज्येष्ठ नागरिक र रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई ‘बुस्टर’ डोज दिने भएको हो । सो कार्य सुरु भइसकेको छ । सरकारले १८ वर्षभन्दा माथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य लिएको थियो । पहिलो मात्रा एक करोड ५८ लाख ३७ हजार ६७१ जना र पूर्ण मात्रा एक लाख २१ हजार २७ लाख ८२९ जनाले लगाएका छन् । कुल जनसङ्ख्याको भने पहिलो मात्रा ५२.१ प्रतिशत र पूर्ण मात्रा ३९.९ प्रतिशतले लगाएका छन् ।

यस्तै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मन्त्रालयले मोडर्ना र फाइजर खोप लगाइरहेको छ । बालबालिकालाई अहिलेसम्म ५२ प्रतिशत पहिलो मात्रा र ०.१ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जानकारी दिनुभयो ।

बागमती र गण्डकी प्रदेशले लक्ष्यअनुसारको खोप
उहाँकाअनुसार प्रदेशअनुसार बागमती र गण्डकीले लक्ष्यअनुसार खोप लगाइसकेका छन् । वागमती प्रदेशले पहिलो मात्रा ८२ प्रतिशत र पूर्ण मात्रा ७६ प्रतिशत तथा गण्डकी प्रदेशले पहिलो मात्रा ८३ प्रतिशत र पूर्ण मात्रा ८२ प्रतिशतले खोप लगाइसकेका छन् ।

प्रदेश नं १ ले पहिलो मात्रा ७४ प्रतिशत र पूर्ण मात्रा ५४ प्रतिशत, प्रदेश नंं २ ले पहिलो मात्रा ५७ प्रतिशत र पूर्ण मात्रा ४८ प्रतिशत, लुम्बिनी प्रदेशले पहिलो मात्रा ७३ प्रतिशत र पूर्ण मात्रा ५७ प्रतिशत, कर्णाली प्रदेशले पहिलो मात्रा ५६ प्रतिशत र पूर्ण मात्रा ५१ प्रतिशत तथा सुदूरपश्चिम प्रदेशले पहिलो मात्रा ६४ प्रतिशत र पूर्ण मात्रा ५९ प्रतिशतले खोप लगाइसकेका छन् ।

मनाङ, मुस्ताङ र कास्कीले शतप्रतिशतलाई खोप
महाशाखाका निर्देशक डा लालका अनुसार मनाङ, मुस्ताङ र कास्कीले जिल्लाले पूर्ण मात्राको शतप्रतिशत नै खोप लगाइसकेका छन् भने बाजुरा जिल्लाले पहिलो मात्रा खोप लक्षित वर्गको शतप्रतिशतलाई खोप लगाइसकेको छ । गण्डकी प्रदेशमा नवलपरासी (पूर्व)ले बाहेक सबै जिल्लाले लक्ष्यअनुसार दुई तिहाइ जनसङ्ख्यालाई खोप लगाइसकेका छन् । प्रदेश नंं १ का ताप्लेजुङले ६६.४ प्रतिशत, सङ्खुवासभाले ७७.६ प्रतिशत र ओखलढुङ्गाले ६९.८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । प्रदेश नं २ का कुनै पनि जिल्लाले लक्ष्यअनुसारको पहिलो र पूर्ण मात्राको खोप लगाएका छैनन् ।

बागमती प्रदेशका धादिङ, नुवाकोट, सिन्धुली र मकवानपुरबाहेक सबै जिल्लाले पूर्ण मात्राको खोप लक्ष्यअनुसार दुई तिहाइ जनसङ्ख्यालाई लगाइसकेका छन् । उपत्यकाका काठमाडौँ ९०.६ प्रतिशत, भक्तपुरमा ९२ प्रतिशत र ललितपुरले ८४.९ प्रतिशत लक्षित जनसङ्ख्यालाई पूर्ण मात्राको खोप दिइसकेको छ । यस्तै लुम्बिनी प्रदेशमध्ये रोल्पाले ६९.८ प्रतिशत, अर्घाखाँची ६६.६ प्रतिशत, पाल्पा ८०.२ प्रतिशत, रुपन्देही ७८.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाई लक्ष्यअनुसार खोप लगाएका छन् । यस्तै कर्णाली प्रदेशको सुर्खेत जिल्लाले मात्र पूर्ण मात्रा ६५.३ प्रतिशत र सुदूरपश्चिमको बाजुरा जिल्लाले पूर्ण मात्रा ७४.९ प्रतिशत, दार्चुलाले पूर्ण मात्रा ६८.४ प्रतिशत, कञ्चनपुर जिल्लाले पूर्ण मात्रा ७०.९ प्रतिशत लगाएको छ ।

३३ पालिकाले शतप्रतिशत खोप लगाए-उहाँका अनुसार ३३ स्थानीय तहले लक्षित जनसङ्ख्याको शतप्रतिशतलाई पूर्ण मात्राको खोप लगाएका छन् । ओखलढुङ्गाका सिद्धिचरण नगरपालिका र खिजीडेम्बा गाउँपालिका, झापाको कन्काई नगरपालिका र विर्तामोड नगरपालिका, दोलखाको गौरीशङ्कर गाउँपालिका र जिरी नगरपालिका, रसुवा गोसाइँकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिकाले शतप्रतिशतलाई खोप लगाइसकेका छन् ।

यस्तै काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका, भक्तपुरका भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका, ललितपुरको महालक्ष्मी नगरपालिका, काभ्रेको धुलिखेल नगरपालिकाले लक्षित जनसङ्ख्याको शतप्रतिशत खोप लगाएका छन् । यस्तै मकवानपुरको हेटाँैडा उपमहानगरपालिका, गोर्खाको गोरखा नगरपालिका र धार्चे गाउँपालिका तथा गण्डकी गाउँपालिका, मनाङको नामे र नासोङ गाउँपालिका, मुस्ताङका पाँचैवटा स्थानीय तहले पनि शतप्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

कास्की जिल्लाको पोखरा उपमहानगरपालिका, मादी र रुपा गाउँपालिका, तनहुँको व्यास नगरपालिका, स्याङ्जाको पुतलीबजार र भिरकोट नगरपालिका, बागलुङको ताराखोला गाउँपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि लक्षित जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिइसकेको छ । यस्तै पहिलो मात्रा शतप्रतिशत लक्षित समूहलाई खोप लगाइसकेको बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिकाले मात्र पूर्ण मात्राको खोप पनि शतप्रशितल लक्षित समूहलाई लगाइसकेको छ । बैतडीको पाटन नगरपालिकाले ९९.३ प्रतिशत लक्षित जनसङ्ख्यालाई पूर्ण मात्रा खोप दिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर