प्रधानमन्त्री कप क्रिकेट : पुलिस फाइनलमा — OSNepal

प्रधानमन्त्री कप क्रिकेट : पुलिस फाइनलमा

LC (KTM) January 18, 2022 0

काठमाडौँ, ४ माघ -नेपाल पुलिस क्लब प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । जितका लागि १५६ रनको लक्ष्य पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै १०५ रन मात्र बनाउन सक्यो ।

बागमतीका लागि आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे । उनले ३३ बल खेल्दै तीन चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोड्दा चार चौका हााने । रामनरेश गिरी २२ रनमा अविजित रहे । बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले पाँच, सागर ढकालले दुई तथा आरिफ शेखले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले पाँच विकेट गुमाएर १५५ रन जोड्यो । पुलिसका लागि ओपनर पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ५४ बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५९ रनको योगदान दिए । दिलिप नाथले ३१ तथा अनिल साहले २५ रन बनाए । बलिङतर्फ बागमतीका नन्दन यादव र रिजन ढकालले दुई–दुई र प्रतिस जिसीले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर