कोरोनाका कारण रङ्गशालामा दर्शकविनै आहा ! रारा गोल्डकप — OSNepal

कोरोनाका कारण रङ्गशालामा दर्शकविनै आहा ! रारा गोल्डकप

LC (KTM) January 18, 2022 0

कास्की, ४ माघ- मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगिता यस वर्ष रङ्गशालामा दर्शकविनै सञ्चालन हुने भएको छ । पोखरा रङ्गशालामा यही माघ ६ देखि १५ गतेसम्म सञ्चालन हुने २०औँ संस्करण प्रतियोगिता बढ्दो कोरोना सङ्क्रमण जोखिमका कारण दर्शक नराखेर भए पनि सञ्चालन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्वारा आयोजित प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, आयोजक सहारा र एक विदेशीसहित १० टोलीको सहभागिता रहने क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले जानकारी दिनुभयो । उहाँले मोफसलको उत्कृष्ट प्रतियोगिता भएकाले कठिन अवस्थामा पनि यसलाई निरन्तरता दिन र प्रशासनको आग्रहअनुसार यसवर्ष टिकट बिक्री नगरिने जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने बताइएको छ । यसैगरी प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ लाई रु आठ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । सो पुरस्कारको प्रायोजन सहारा युकेले गरेको छ । यसैगरी प्रतियोगिताको उद्घाटन समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान–२०७८ बाट एक जना राष्ट्रिय खेलाडीलाई नगद रु ३५ हजार, प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिने क्लबले जनाएको छ ।

प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मछिन्द्र क्लब, मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, विवाईएससी मिनेसोटा अमेरिका र सहारा क्लब पोखराको सहभागिता रहने छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा र नेपाल एपीएफ क्लबका बीचमा हुने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अघिल्लो संस्करण नेपालको ए डिभिजन क्लब सङ्कटाले उपाधि जितेको थियो भने उपविजेता अफ्रिकन रुट एशोसिएशन डाउल्ला, क्यामरुन रहेको थियो ।
विसं २०५५ मा स्थापना भएको सहारा क्लब पोखराले आयोजन गर्ने यस प्रतियोगिता पोखराको पर्यायवाचीको रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करणदेखि नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

प्रतियोगितामा कूल अनुमानित आम्दानी रु एक करोड ३६ लाख एक हजार र अनुमानित खर्च रु एक करोड छ लाख ४८ हजार ५०० रहेको क्लबले जनाएको छ । क्याराभान गोल्ड कपसहित यो प्रतियोगिता २१ वर्षदेखि निरन्तर सञ्चालित छ । प्रतियोगिताबाट बचत रकम क्लबद्वारा सञ्चालित ‘सूर्य बहादुर केसी’ स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिँदै आइएको क्लबका महासचिव अधिकारीले जानकारी दिनुभयो ।

हाल तेस्रो ब्याचको रुपमा सो एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । विसं २०६१ देखि आश्रित बालकको भरणपोषण आवासीय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षादिक्षा र फुटबल प्रशिक्षणलगायत कार्य क्लबले गर्दै आएको छ । प्रतियोगिताले पर्यटकीय सहर पोखरालाई स्पोर्टस् हब सिटीका रुपमा परिचित गराउँदै पर्यटन प्रवद्र्धन र नवप्रतिभावान फुटबल खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शनको अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर