कोरोनाले आँबुखैरेनीको सेवा बन्द, शुक्लागण्डकीका ११ कर्मचारी पनि संक्रमित — OSNepal

कोरोनाले आँबुखैरेनीको सेवा बन्द, शुक्लागण्डकीका ११ कर्मचारी पनि संक्रमित

LC (KTM) January 19, 2022 0

तनहुँ, ४ -कर्मचारी र जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाको आँबुखैरेनी गाउँपालिकाको कार्यालयबाट प्रवाह गर्ने सेवा बन्द भएको छ । बुधबारदेखि ९ माघसम्म कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले बताए ।गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र जनप्रतिनिधिमा गरेर १३ जनालाई मंगलबार कोरोना पुष्टि भएको उनले बताए । उनका अनुसार गाउँपालिकाका ६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ती मध्ये १३ कर्मचारीसहित १५ जनालाई पुष्टि भएको छ ।

‘एन्टिजेन गर्दा पोजेटिभ देखिए पनि लक्षण देखा परेका छैन । कार्यालयका कर्मचारीलाई नै कोरोना भएपछि समुदायमा फैलने खतरा भएकाले भिडभाड नहोस् भनेर पाँच दिन गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेका छौं’, उनले भने । अत्यावश्यक सेवा भने बन्द नहुने गाउँपालिका अध्यक्ष थापाले बताए । वडा कार्यालयबाट प्रवाह हुने सेवा नियमित हुने उनले जानकारी दिए ।

आँबुखैरेनी कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । स्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित रहन गाउँपालिकाले अनुरोधसमेत गरेको छ । शुक्लागण्डकीका ११ कर्मचारीलाई कोरोना-शुक्लागण्डकी नगरपालिकाका कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएको छ । मंगलबार ४६ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ११ जनालाई कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । ‘केहीलाई रुघाखोकी र ज्वरो आउने लक्षण देखिएको थियो । एन्टिजेन गर्दा ११ जनालाई संक्रमण पुष्टि भएको छ’, उनले भने । कर्मचारी बाहेक थप दुई जनामा पनि कोरोना पुष्टि भएको छ ।

कर्मचारीलाई कोरोना देखिए पनि कार्यालयको सेवा भने बन्द गरिएको छैन । बुधबार बैठक बसेर कार्यालयको सेवा बन्द गर्ने नगर्नेबारे निर्णय गरिने प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले बताए । पछिल्लो समय कोरोना संक्रमण निकै तीव्र गतिमा फैलिएकाले अनिवार्य स्वास्थ्यका मापदण्ड पालना गर्न उनको अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर