१२ माघ सम्ममा कोरोना २० हजार पुग्ने अनुमान — OSNepal

१२ माघ सम्ममा कोरोना २० हजार पुग्ने अनुमान

LC (KTM) January 19, 2022 0

काठमाडौं । कोरोना संक्रमण मंगलबार अहिलेसम्मकै धेरै देखिएको छ । पछिल्लो २४ घन्टामा परीक्षण गर्ने २२ हजार आठ सय २८ मध्ये १० हजार दुई सय ५८ जनामा संक्रमण देखिएको छ । यो क्रम अर्को साता अझै बढेर उच्च बिन्दुमा पुग्ने स्वास्थ्य मन्त्रालयकै प्रक्षेपण छ । यसअघि २८ वैशाखमा एकैदिन सबैभन्दा धेरै नौ हजार ती सय १७ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयले तेस्रो लहरको संक्रमण २६ जनवरी अर्थात् १२ माघमा उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । दैनिक वृद्धि भएको संक्रमण, अन्य देशहरूको संक्रमण अवस्था, परीक्षणलगायत विभिन्न प्राविधिक विषयलाई आधार मानेर मन्त्रालयले यस्तो प्रक्षेपण गरेको हो ।

मन्त्रालयको प्रक्षेपणअनुसार २२ देखि २९ जनवरी अर्थात् ८ देखि १५ माघसम्म नेपालमा धेरै संक्रमण देखिनेछ । १२ माघमा सबैभन्दा धेरै १९ हजार ६ सय ९५ जनामा संक्रमण पुष्टि हुने र तीन सय ९४ जनालाई क्रिटिकल केयरको आवश्यकता पर्ने अनुमान छ । मन्त्रालयले तेस्रो लहरमा नौ हजार दुई सय ७० जना अस्पताल भर्ना हुने र हजारभन्दा बढीमा जटिल प्रकारको संक्रमण देखिने प्रक्षेपण पनि गरेको छ ।नयाँ पत्रिकादैनिकमा खबर छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले माघको दोस्रो साता दैनिक संक्रमितको संख्या २० हजारवरिपरि पुग्न सक्ने बताए । संक्रमण बढ्दा अस्पतालमा भर्ना हुने दर पनि स्वतः बढ्ने उनको भनाइ छ । फागुनको पहिलो सातापछि भने संक्रमण घट्न थाल्ने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर