पशुपति मन्दिरमा हुने विशेष पूजा आजैदेखि बन्द गरियो — OSNepal

पशुपति मन्दिरमा हुने विशेष पूजा आजैदेखि बन्द गरियो

LC (KTM) January 19, 2022 0

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

पशुपतिनाथ मन्दिरमा हुने विशेष पूजा पनि आजैदेखि बन्द गरिएको छ । पशुपतिनाथ मन्दिरमा नित्य र नैमित्तिक पूजा बाहेकका सबै धार्मिक क्रियाकलाप नेपाल सरकारको निर्णय अनुसार बन्द गरिएको उहाँले सुनाउनुभयो । अर्को सूचना नभएसम्मका लागि पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायत भक्तजनको भीडभाड बढी हुने मन्दिरमा पनि नित्य र नैमित्तिक पूजामात्र गरिने छ । अरु धार्मिक क्रियाकलाप बन्द गरिएको छ । विसं २०७६ चैत पहिलो साता नेपाल पहिलोपटक कोरोना सङ्क्रमण भेटिएपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

त्यसबेला नौ महिनापछि अर्थात् २०७७ पुस १ गते देखिमात्र दर्शनार्थीका लागि मन्दिर खुला गरिएको थियो । गत वैशाखमा डेल्टा भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र भएपछि दोस्रोपटक पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । तीजपछि मात्र मन्दिरमा सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुला गरिएको थियो । गत असोजदेखि पशुपति क्षेत्र विदेशी पर्यटकका लागि खुला गरिएको थियो । पर्यटकका लागि पशुपति क्षेत्र खुला गरेपछि गत असोजदेखि नै चहलपहल बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर