बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने विषयमा मन्त्री खाँड र देवेन्द्र पौडेलबीच छलफल — OSNepal

बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने विषयमा मन्त्री खाँड र देवेन्द्र पौडेलबीच छलफल

LC (KTM) January 19, 2022 0

काठमाडौँ, ५ माघ -गृहमन्त्री बालकृष्ण खाँड र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलबीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने विषयमा छलफल भएको छ । गत पुस ३० गते राष्ट्रिय चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच भएको निर्णय कार्यान्वयन नभएपछि कानूनी कारबाही अघि बढाउने विषयमा आज साँझ छलफल भएको हो ।

छलफलका क्रममा शिक्षामन्त्री पौडेलले शिक्षा मन्त्रालय विद्यार्थीका पक्षमा रहेको भन्दै आन्दोलित विद्यार्थीको समस्या समाधान गर्न गृह मन्त्रालयलाई आवश्यक सहजीकरण गरिदिन आग्रह गर्नुभयो । “पटकपटक विद्यार्थीको गुनासो सुन्न मेडिकल कलेजमा पुगेको छु । केही दिनअघि गरेको निर्णय कार्यान्वयन भएन थप एक्सन लिन प¥यो”, छलफलका क्रममा शिक्षामन्त्री पौडेलले भन्नुभयो ।

गत पुस ३० गते शिक्षामन्त्री पौडेलको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस कार्यक्रमका लागि चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्कभन्दा बढी लिन नपाइने, छात्राबाससम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्थाले तथा अभिभावक एवं विद्यार्थीबीच आपसी छलफल गरी सहमतिमा निरुपण गर्ने र यसको सहजीकरण विश्वविद्यालयले गर्ने र ऐन कार्यान्वयनका सन्दर्भमा देखिएका असहजता निरुपणका लागि सम्बन्धित निकाय, विज्ञ तथा अन्य सरोकारका पक्षसँग छलफल गरी संशोधनका लागि राय परामर्श उपलब्ध गराउनेलगायतका विषयमा निर्णय भएको थियो ।छलफलमा गृहमन्त्री खाँडले मन्त्रालय विद्यार्थीका पक्षमा रहेको भन्दै तत्काल काठमाडौँ, भक्तपुर र मोरङ जिल्लाका सिडिओमार्फत त्यहाँको यथार्थ स्थिति बुझेर अघि बढ्ने प्रतिक्रिया दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर