एविसिका आराध्यदेव पूजनीयम् १०८ धारा बराहको मन्दिर बन्ने — OSNepal

एविसिका आराध्यदेव पूजनीयम् १०८ धारा बराहको मन्दिर बन्ने

LC (KTM) January 20, 2022 0

गण्डकी, ६ माघ – पदयात्राका क्षेत्रमा विश्वकै १० उत्कृष्ट गन्तव्यमध्येको अन्नपूर्ण आधार शिविर (एविसि)को पदयात्रा मार्गस्थित पूजनीयम् १०८ धारा बराहको मन्दिर बन्ने भएको छ । पदयात्रा मार्गको दोभान र हिमालयको बीचमा पर्ने दुई हजार ८०० मिटरको उचाइ रहेको स्थलमा अवस्थित पूजनीयम् बराहलाई प्राचीनकालदेखि यस क्षेत्रका बासिन्दाले आराध्यदेवका रुपमा पूजाआजा गर्ने गरेका छन् । पूजनीयम् १०८ धारा बराहप्रति परापूर्वकालदेखि नै विशेष आस्था रहेको र अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्नेलाई यिनै बराहले रक्षा गर्ने गरेको विश्वास कायमै रहेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव एवं निर्माण समितिका सचिव दिलीप गुरुङले जानकारी दिनुभयो ।

पदयात्री अन्नपूर्ण आधार शिविर जाँदा र फर्कदा होस् वा हिमाल चढ्न जाँदा र फर्कदा होस् बराहको दर्शन गर्ने गरेको जनाउँदै उहाँले यस क्षेत्रको संरक्षणमा बराहको विशेष योगदान रहेको जनविश्वास कायमै रहेको बताउनुभयो । महत्वपूर्ण आस्था विश्वास रहेकै कारण मन्दिर निर्माणका लागि सहयोेग जुट्ने अपेक्षा गरिएको निर्माण समितिका अध्यक्ष जगनरास गुरुङले बताउनुभयो ।

मन्दिर निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले वडामार्फत रु १० लाख विनियोजन गरिसकेको छ । सबैको साथ र सहयोगमा आकर्षक मन्दिर तयार गरी पदयात्रालाई धार्मिक पर्यटनसँग पनि जोड्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर