अमेरिकामा हिमानी शाहको उपस्थितिमा हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन — OSNepal

अमेरिकामा हिमानी शाहको उपस्थितिमा हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन

LC (KTM) January 20, 2022 0

विजय थापा । जनवरी १९ ,बुधबार । हिमानी शाहको उपस्थितिमा हिमानी ट्रष्ट युएसएको औपचारिक उद्घाटन भएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको पुरानो तथा पर्यटकीय शहर लिजबर्ग शहरमा एक भब्य समारोह बीच हिमानी शाहले उद्घाटन गर्नु भएको छ ।

हिमानी ट्रष्ट युएसएको औपचारिक रुपमा शुभारम्भ गर्दा हिमानी शाहले पानसमा बत्ति बाल्दा पण्डित राजेन्द्र खनाल गुरुले मन्त्र उच्चारण गर्नु भएको थियो । समारोहमा हिमानी शाहले आफ्नो सँस्था र यसको सेरोफेरोमा चर्चा गर्नु भएको थियो भने संक्षेपमा ट्रस्ट(गुठी)को बारेमा पनि बताउनु भएको थियो । साथै सबै सहयोगी मनलाई धन्यबाद दिनु भएको थियो ।

उक्त समारोहमा हिमानी ट्रस्ट युएसएका बिभिन्न शाखाका पदाधिकारी,स्थानीय सामाजिक अभियन्ता,बिदेशी पाहुना सहितको उपस्थितिमा विधिवत रुपमा हिमानी ट्रष्ट युएसएको उद्घाटन गरिएको छ ।

हिमानी शाहलाई पन्च कन्याहरुले पुष्प गुच्छा द्वारा स्वागत गरिएको थियो भने समारोहमा नेपाली राष्ट्रिय गान तथा अमेरिकी राष्ट्रिय गान बजाईएको थियो । समारोहमा हिमानी ट्रस्ट युएसए भर्जिनियाकी सुनिता खत्री तथा मेरिल्याण्ड शाखाकी केमिका भण्डारीले शाहलाई पुष्प गुच्छा प्रदान गरि स्वागत गर्नु भएको थियो ।

समारोहमा हिमानी ट्रस्ट युएसएका महा सचिव आनन्दु लामाले स्वागत मन्तब्य राख्नु भएको थियो । यसै गरि त्यहाँ उपस्थित हुनु भएका बिदेशी पाहुनाहरुले मन्तब्य राख्दै हिमानी शाहको हिमानी ट्रष्ट तथा उहाले सामाजिक सेवामा पुर्याएको योगदानलाई मुक्त कण्ठले सबैले प्रशंसा गर्नु भएको थियो । सबै बिदेशीले शुभकामना दिनुको साथै अमेरिकामा पनि हिमानी ट्रस्ट खुलेकोमा बधाई तथा शुभकामना दिनु भएको थियो ।

समारोहमा बिदेशी अतिथिहरुमा भर्जिनियाका सिनेटर मार्क वार्नरका प्रतिनिधि ,लाउडन काउन्टीका प्रतिनिधिहरु ,अमेरिकी विदेश बिभागका पूर्व पदाधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो ।

समारोहमा महासचिव आनन्दु लामाले अमेरिकामा स्थापित शाखा र यसको बिस्तार बारेमा जानकारी हिमानी शाहलाई दिनु भएको थियो । साथै लामाले पदाधिकारीहरुलाई समेत परिचय गराउनु भएको थियो । हिमानी ट्रस्ट युएसएका अध्यक्ष हरि शर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

समारोहमा स्वयम सेवक,दाता तथा पदाधिकारीहरुलाई हिमानी शाहले समेत प्रशंसा पत्र वितरण प्रदान गर्नु भएको थियो । कार्यक्रम संचालन चर्चित संचारकर्मी रमा सिंहले गर्नु भएको थियो ।

शाह गत मंगलबारको दिन डिसी महानगर क्षेत्रमा रहेको डलस अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालबाट आई पुग्नु भएको थियो ।विमानस्थलमा हिमानी शाहलाई भेट्न भर्जिनिया,वाशिंगटन डिसी ,क्यालिफोर्निया ,ओहायो ,टेक्सस ,कोलोराडो लगायतबाट पदाधिकारीहरु आउनु भएको थियो । क्यालिफोर्नियाबाट सामाजिक अभियन्ता तथा पदाधिकारीहरुमा क्रमस अनिल पाण्डे ,चीन थापा ,नारायण सोमनामे ,रबि सिंह बस्नेत आउनु भएको थियो । उहाहरु क्यालिफोर्निया भेटघाट पछि फर्कनु भएको छ ।

हिमानी शाहको अमेरिका अधिकारिक बसाई करिव २ हप्ता हुनेछ भने यस पटक उहा डिसी महानगर क्षेत्र तथा न्यूयोर्कमा हुने कार्यक्रममा सहभागी हुनु हुनेछ ।स्मरण रहोस ,हिमानी ट्रष्ट युएसएका विभिन्न शाखाहरु खोलिएका छन् भने खोल्ने क्रम जारी रहेको छ । हिमानी ट्रष्ट युएसए अमेरिकी सरकारमा आधिकारिक रुपमा दर्ता भएको गैर मुनाफा सामाजिक संस्था हो ।

हिमानी ट्रष्ट : “धर्म, वर्ग, जाती, दल र सम्प्रदाय” भन्दा धेरै माथि उठेर नेपाल र नेपालका महिला,अशक्त, वृद्ध, विधवा तथा वाल-बच्चाका साथै शिक्षा-स्वास्थको विकासमा महत्वपूर्ण सहयोग गर्ने विशुद्ध समाजिक संस्था हो ।

तस्बिर कृतज्ञता :राजिव श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर