आहा ! रारा गोल्डकपको उद्घाटन खेलमा एपिएफको विजयी सुरुआत — OSNepal

आहा ! रारा गोल्डकपको उद्घाटन खेलमा एपिएफको विजयी सुरुआत

LC (KTM) January 20, 2022 0

कास्की, ६ माघ-सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले आजदेखि पोखरामा सुरु भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा आज सम्पन्न उद्घाटन खेलमा विभागीय एपीएफले आयोजक सहारा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । एपिएफले खेलको पहिलो तथा दोस्रो हाफमा एक÷एक गोल गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो ।

खेलको १४औँ मिनेटमा एपीएफका आभास लामिछानेले गोल गर्दै खेलमा अग्रता बनाउनुभयो । नविन लामाले पेनाल्टी क्षेत्रभित्र उपलब्ध गराएको बललाई दोस्रो बार च्याप्दै लामिछानेले हानेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ६०औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । रवि तामाङको प्रहार विपक्षी खेलाडीले ‘डिबक्स’ भित्र क्लियर गर्न नसकेको अवस्थामा लामाले बललाई पोष्टको दिशा दिनुभयो । ‘ए डिभिजन’ क्लब सातदोबाटोका अधिकांश खेलाडीसहित मैदान ओर्लिएको आयोजक सहारा खेलमा गोलका अवसर सिर्जना गर्न नसक्दा पहिलो खेलमै पराजय बेर्होन बाध्य बन्यो ।

सहारालाई पराजित गरेको एपीएफले अब क्वार्टरफाइनलमा अमेरिकाको बीवाइएससी मिनेसोटा विरुद्ध खेल्नेछ । खेलमा एपिएफका नवीन लामा ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद रु आठ हजार र ट्रफी पुरस्कार प्राप्त गर्नुभयो ।

“खेलकुद विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्वारा आयोजित २०औँ संस्करणको प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, आयोजक सहारा र एक विदेशीसहित १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मछिन्द्र क्लब, मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, विवाईएससी मिनेसोटा अमेरिका र सहारा क्लब पोखराको सहभागिता छन् ।

आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने बताइन्छ ।

फरवार्ड विष्ट सम्मानित-यसैबीच नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट प्रतियोगिताको उद्घाटन समारोहमा सम्मानित हुनुभएको छ । आयोजक सहाराले विष्टलाई फुटबल खेलमा गरेको योगदानको कदर गर्दै ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान–२०७८’ बाट सम्मानित गरेको हो ।अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, क्लबका अध्यक्ष हरिराम गुरुङलगायतले उहाँलाई नगद रु ३५ हजार, प्रमाणपत्र र दोसल्लाबाट सम्मान गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर