यस वर्ष सुन्तला विक्री गरेर एउटै गाउँमा तीन करोड भित्रियो — OSNepal

यस वर्ष सुन्तला विक्री गरेर एउटै गाउँमा तीन करोड भित्रियो

LC (KTM) January 21, 2022 0

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिका–२ खानीगाउँका कृषकले यस वर्ष सुन्तला विक्री गरेर गाउँमा रु तीन करोड भित्र्याएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका कृषकले यस वर्ष सुन्तला विक्री गरेर रु तीन करोड आम्दानी गरेका हुन् ।

तीन दशक अगाडीसम्म बाँझो पाखोको रुपमा रहेको यस ठाउँ अहिले सुन्तलाको पकेट क्षेत्रको रुपमा विकास भइरहेको छ । मिहीनेत गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका किसानले प्रस्तुत गरेका छन् । यहाँका विश्वबहादुर अधिकारी र निर्मल अधिकारीले यस वर्ष सुन्तला विक्री गरेर रु ८५ लाख आम्दानी गर्नुभएको छ । भिरालो जमिनलाई उपयोग गरेर सुन्तला खेती गर्नुभएका उहाँहरुले पछिल्लो समय मनग्य आम्दानी लिन सफल हुनुभएको छ ।

जिल्लाका विभिन्न स्थानमा सुन्तलामा रोग लागेपनि यस ठाउँमा भने सुन्तला उत्पादनमा कमी नआएको विश्वबहादुरले बताउनुभयो । सुन्तलामा विभिन्न भाइरसले पछिल्लो समय सङ्क्रमण आएपनि खानीगाउँका सुन्तलामा व्यवस्थापनमा कृषकले उचित ध्यान दिएको उहाँले बताउनुभयो ।

स्थानीयवासी सुकनारायण श्रेष्ठ, रामबहादुर अधिकारी लगायतले सुन्तला विक्री गरेर मनग्य आम्दानी गर्दै आउनुएको छ । यहाँका कृषकले वर्षेनी लाखौ मूल्य बराबरको सुन्तला विक्री गर्ने गरेको श्रेष्ठले बताउनुभयो । म्याग्देको खानीगाउँमा कृषकले गरेको सुन्तलाखेती उदाहरणीय रहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा यस वर्ष १५ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको छ ।

गत वर्ष जिल्लामा आठ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । उत्पादितमध्ये धेरै सुन्तला जिल्लाबाहिर निर्यात हुने गरेको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौ, पोखरा, नारायणगढ लगायतका ठाउँमा विक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमाद लगायतका ठाउँमा समेत यहाँको सुन्तला विक्री हुने गरेको किसानहरु बताउँछन् । यस वर्ष जिल्लाबाट रु २४ करोड बराबरको सुन्तला बिक्री वितरण हुने अनुमान छ ।

सुन्तला खरिदका लागि ठेकेदार सुन्तला बगानमै पुग्ने गरेका छन् । तनहुँमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । । व्यास नगरपालिका–११ तनहुँसुर, वडा नम्बर १३ को बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमति लगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर