पाथीभरा क्षेत्रमा हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरमा पुग्न समस्या — OSNepal

पाथीभरा क्षेत्रमा हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरमा पुग्न समस्या

LC (KTM) January 21, 2022 0

ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको हो ।

हिमपातले बाटो छोपिएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चार जना तीर्थ यात्रीसँगै लिएर जाँदैछु । हिमपात हुन रोकिएको छैन । हिउँले बाटो पूरै छोपिएको छ । बाटो अनुमान गर्दै जानु पर्नेछ ।” पाथीभरामा जानुभन्दा पनि फर्किन समस्या हुने गरेको उहाँले बताउनुभयो । मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्दछ ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुने गरेको उहाँले बताउनुभयो । पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि नै हिमपात हुन सुरु भएको हो । सोदिन ६० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको क्षेत्र विकास समितिले जनाएको छ ।

समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा तीन हजार ४०० मिटर उचाइ क्षेत्रका बस्तीमा बिहीबारदेखि हिमपात हुन थालेको छ । हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताउनुभयो । हिमपातले जनजीवन प्रभावित हुनुका साथै पशुचौपायसमेत प्रभावित हुने घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले जानकारीदिनुभयो ।

हिमाली क्षेत्रका प्रमुख पुख्र्यौली पेसाका रुपमा पशुपालन गर्दै आएको छ । तर हिमपातको समय पशु जोगाउने मुस्किल पर्ने शेर्पाले बताउनुभयो । सबैभन्दा याक चौँरीको बाछाबाछीलाई हिमपातको समयमा जोगाउने समस्या हुने उहाँले बताउनुभयो । यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङ्चुगोला, भले र ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपात भएको छ ।

मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला र पापुङ बस्तीमा समेत हिमपात भएको मिक्वाखोला गाउँपालिका–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताउनुभयो । हिमपात भएसँगै सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ । अध्यधिक जाडोेले जनजीवन प्रभावितन भएको छ । जिल्लामा पहिलो पटक गतपुस १३ र १४ गते हिमपात भएको थियो । दोस्रो पटक पुस २९मा हिमापात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर