हिमपात भएपछि खप्तड आउने पर्यटकको सङ्ख्या ह्वातै बढ्यो — OSNepal

हिमपात भएपछि खप्तड आउने पर्यटकको सङ्ख्या ह्वातै बढ्यो

LC (KTM) January 22, 2022 0

डोटी, ८ माघ- सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा पुनः हिमपात भएपछि अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि अहिले यहाँ दैनिक आन्तरिक पर्यटक भित्रिन थालेका छन् । हिमपातका कारण खप्तड क्षेत्र निकै रमणीय बनेको त्यहाँ गएर आएका पर्यटकहरु बताउँछन् । हिमपातपछि यहाँका डाँडाकाँडा निकै रमणीय तथा सेताम्मे भएका छन् ।

गएको पुस १४ गते पहिलोपटक हिमपात भएको खप्तड क्षेत्रमा माघ ५ गते रातिबाट पुनः हिमपात भएको हो । खप्तडमा हिमपात भएपछि यहाँ आएका आन्तरिक पर्यटकहरु निकै रमाइरहेको बताइएको छ । हिमपातपछि यहाँ रमाइलो गर्नका लागि दैनिक १२ देखि १५ जनासम्म आन्तरिक पर्यटक घुम्न र रमाइलो गर्न आउने गरेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ ।हिमपात रोकिएको र दिउँसोको समयमा टलक्क घाम लाग्ने भएकाले पनि यहाँ पर्यटक आउने क्रम बढ्दै गएको झिग्रानाका स्थानीयवासी हिरालाल साउँले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँ परेकाले चिसो धेरै छ, दिउँसो घाम लाग्ने भएकाले यहाँ घुम्न आउने पर्यटक पनि दिनहुँ थपिँदै गएका छन्, अहिले यहाँको चहलपहल बढेको छ ।”

हिमपातले यहाँ एकाएक चिसो बढेको स्थानीयवासीहरु बताउँछन् । खप्तडसँगै यहाँका अन्य गाउँहरुमा पनि हिमपात भएकाले नागरिकलाई घरबाहिर निस्किन सकस भइरहेको बताइएको छ । हिमपातका कारण खप्तडलगायतका क्षेत्रहरु सुन्दर देखिन थालिएका निकुञ्जको कार्यालयले जनाएको छ । खप्तडमा मात्रै कम्तीमा पनि एक फिट जति हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ ।

हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको खप्तड झिग्रानास्थित घरबासका सञ्चालक दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “गएरातिदेखि यहाँ हिमपात भएको छ, हिमपातले डाँडाकाँडा सेताम्मे भएकाले निकै रमणिय भएका छन् ।” अबका केही दिनमा खप्तड घुम्न आउने पर्यटकलाई हिमपातले निकै आनन्द दिने उहाँको भनाइ छ । जिल्लामा कोरोना सङ्क्रमण दर कायमै रहे पनि अहिले खप्तड घुम्न आउने तथा अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

गएको वैशाखदेखि हालसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटक आवलोकन भ्रमणका लागि आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय झिग्रानाले जनाएको छ । हिमपातका कारण यहाँको तापक्रम माइनस तीन डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् । बाक्लो हिमपात भइरहेका कारण यहाँका नागरिकहरु घरबाहिर निस्किन पाइरहेका छैनन् ।

यसअघि परेको हिउँ पग्लिन नपाउँदै पुनः हिमपात सुरु भएपछि स्थानीयवासीहरु खेती सप्रिने भन्दै खुसी भएका छन् । खप्तडसहित, बडिकेदार थान, गोलादेउला, चर्केलेक, नापानी, देउताल, मुस्तला, खगरताल, ओखरखाली लगायतका क्षेत्रमा पनि हिमपात सुरु भएको स्थानीयवासी डम्बर विष्टले जानकारी दिनुभयो । हिमपात भएपछि लेकाली क्षेत्रमा गरिएको खेती सप्रिने भन्दै किसानहरु भने निकै खुसी भएका छन् ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर