खुसी खोज्दै बेलायत छाडेर नेपाल आएकी ‘मुन्नी’ भन्छिन् त्यसैले पनि पटक्ककै बेलायत बस्न मनै लागेन् – OSNepal

खुसी खोज्दै बेलायत छाडेर नेपाल आएकी ‘मुन्नी’ भन्छिन् त्यसैले पनि पटक्ककै बेलायत बस्न मनै लागेन्

Osnepal Admin (KTM) January 22, 2022 0

काठमाडौं। कोरोना संक्रमितको ग्राफ उकालो लागेको लाग्यै छ । मेडिकलमा सिटामोलसमेत पाइँदैन । अहिले त अस्पतालमा बिरामीको चाप छैन । तर, महामारी बढ्दै गयो भने अस्पतालमा ठाउँ नपाउने निश्चितजस्तै छ । धेरै अस्पतालमा अक्सिजन प्लान्ट पुग्दो छैन ।

दोस्रो चरणको कोरोना संक्रमणमा १० हजार बढीको मृत्यु भएको तथ्य ताजै छ । यसपटक के हुने हो अनुमान गर्न सकिन्न । यस्तो अवस्थामा पनि नेपाली नागरिक हाँसीखुसी बसेको अनुभव गरेकी छिन् कलाकार प्रियना आचार्य ‘मुन्नी’ले ।

पछिल्लो समय म्युजिक भिडियो र हास्य टेलिशृंखला ‘सक्किगो नि’मा व्यस्त मुन्नीलाई नेपाली समुदायजस्तो सानो कुरामा खुसी हुने प्राणी अन्त कतै भेटिँदैनजस्तो लाग्छ । ‘नेपालीलाई खुसी हुन ठूलो कुरा चाहिँदै चाहिँदैन, सानो कुरामा पनि खुसी भेटिन्छ यहाँ,’ उनले भनिन् ।

अहिले कोभिड संक्रमणले उनको कामको चाप घटेको छ । बिहान कथ्थक नृत्यको क्लास लिने मुन्नी घाम तापेर, मुभी हेरेर अनि पुस्तक पढेर बाँकी दिन बिताउँछिन् । ‘आफूलाई मन लागेको काम गर्न पाएपछि मान्छे त्यसै खुसी हुन्छ । डेढ घन्टा कत्थक नाचेपछि म खुसी भइहाल्छु,’ खुसीको स्रोत उल्लेख गर्दै भनिन् ।

चितवनको भरतपुरमा हुर्केकी मुन्नी प्लस टु सकेपछि उच्च शिक्षा अध्ययनका लागि आठ वर्ष बेलायत बसिन् । उनका साथी भाइ मात्रै होइन इष्टमित्रसमेत मुन्नी फेरि फर्केर नेपाल आउँछिन् भनेर सोचेका थिएनन् । चिल्लो सडक, मिलेको बस्ती, सुकिला मान्छे, सबै कुरा सिस्टममा चल्नेबेलायतको प्रशंसा गर्नेहरू विश्वभर छन् । ‘त्यस्तो ठाउँमा पुगेकी मुन्नी फर्किन्न, उतै सेटल हुन्छे’ धेरैले यस्तै भनेका थिए उनका ’दयगतमा ।

भरतपुरमा हुर्केकी नेपाली चेली ‘मुन्नी’लाई भने बेलायतको त्यो भौतिक सुख सुविधाले पटक्कै आकर्षित गरेन । बेलायतमै म्युजिकल एन्ड थिएटर पढेकी मुन्नीले चाहेको भए राम्रै काम पाउँथिन् । पारिश्रमिक गतिलै हुन्थ्यो । घर, गाडी समस्या थिएन । उनी भन्छिन्, ‘मलाई त्यो भव्यताले पटक्कै आकर्षित गरेन । बेलायतवासीको रोबर्टजस्तो जीवनशैली देख्दैमा वाक्क भइसकेकी थिएँ,’ उनले भनिन् ‘स्वदेशी होस् या विदेशी बेलायतमा बसेपछि प्रत्येक घन्टा पैसामा कन्भर्ट हुन्छ ।’

सामान्य चाडपर्वमा पनि वल्लो घर, पल्लो घर चहार्दै हुर्किएकी मुन्नी घरमा पाहुना आउँदा अर्को पर्व थपिएको महसुस् गर्थिन् । बेलायतवासीको अनुभव सुनाउँदै भन्छिन् ‘त्यहाँ त सपरिवार जम्मा भएर एकैपटक खाना खाने संस्कार पनि हुन्न ।’

एकै घरमा पनि एक जना ड्युटी जान्छ । अर्को आउँछ । पारिवारिक जमघट, छलफल केही पनि हुन्न । आफूबाहेक दोस्रो व्यक्ति’दयगत सरोकारै राख्न नभ्याउने शैली उनलाई फिटिक्कै मन परेन । आर्थिक रूपमा नेपाल गरिब भए पनि संस्कारका हिसाबले निकै धनी भएको अनुभव गरेकी मुन्नी अब यही मुलुकमा धुवाँ धुलो पचाउँदै रंगकर्ममै रमाउने सोचमा छिन् ।

अनि मुन्नी भइन्

दुई वर्षअघि सर्वनाम थिएटरमा रामबाबु रेग्मीको निर्देशनमा ‘निकास भर्सेज निकास’ भन्ने एउटा नाटक मञ्चन भएको थियो । त्यसमा एउटा पात्र थियो भारतबाट आएर नेपाल बसेकी ‘मुन्नी’ । मुन्नीको क्यारेक्टर भर्खर बेलायतबाट फर्किएकी प्रियनाको भागमा प¥यो । नाटक मञ्चन सकिएपछि युनिटकै मान्छेहरूले प्रियनालाई ‘मुन्नी’ भनेर बोलाउन थाले । अहिले उनको प्रियना भन्ने नाम झन्डै झन्डै कोमामा छ । निर्देशकदेखि दर्शकसमेतले ‘मुन्नी’ भनेरै बोलाउँछन् ।

‘मलाई त मुन्नी भन्ने क्यारेक्टर नाट्येश्वरीको प्रसाद जस्तो लाग्छ, अडियन्सले पनि मुन्नीलाई निकै माया गर्नुभएको छ,’ मुन्नी हुन पाएकोमा गर्व गरिन् उनले ।

‘मुन्नी’ खासमा मधेस मूलकी पात्र हो । चितवनको भरतपुरमा हुर्किएकी प्रियनालाई धेरै दर्शकले मधेसकै चेलीका रूपमा बुझ्दा रहेछन् । मुन्नी जहाँ हुकिइन् त्यहाँ पक्की घर र कालोपत्रे सडक छ । तर, मुन्नी मधेसको पनि अलि दुर्गम क्षेत्रमा हुर्किएकी पात्र हुन् ।

आफूलाई चितवनको थारू बस्तीमा रहेका खबडाले छाएका घर मनपर्ने धारणा राख्ने मुन्नीले तराईमा फुसको छानाको घर देख्दा अहिले पनि प्रिय लाग्ने बताइन् । ‘मलाई अहिले पनि तराईमा सानासाना फुसले छाएको घर, तोरी फुलेको बारी असाध्यै राम्रो लाग्छ, पहाडको उकालो ओरालोभन्दा तराईको सम्म भूभाग नै बढी रमाइलो लाग्छ,’ उनले भनिन् ।

‘मुन्नी’ भइसकेपछि घुम्ने सिलसिलामा उनी तराईका धेरै ठाउँ पुगिन्् । टिभीमा ‘मुन्नी’लाई हेरेका दर्शकहरूले भनेछन्, ‘हामीले त सोचेका थियौं तपाईं मधेसकै हुनुहुन्छ होला, मधेसको नभए पनि तपाईं पक्का मधेसी देखिनुहुन्छ ।’ दर्शकका यस्ता प्रतिक्रियाले रोमाञ्चित हुन्छिन् उनी ।

थिएटरकर्मीलाई बाँच्न अझै गाह्रो

थिएटरप्रति विशेष मोह राख्ने मुन्नी स्कुल पढ्दैदेखि नृत्य र नाटकमा सहभागी हुन्थिन् । उनी जहाँ हुर्किइन् भारतीय र नेपाली नृत्यहरू प्रस्तुत हुन्थ्यो । त्यही वातावरणमा हुर्किएकी मुन्नी भन्छिन्, ‘मैले त्यहीँबेला कलाको बीउ रोपेको थिएँ, अब आफैंले रोपेको बिरुवा हुर्काउने सोचमा छु ।’ नेपालमा नाट्यकर्मीको भविष्य अझै असुरक्षित रहेको अनुभव गरेकी मुन्नी सुरक्षित होला भन्नेमा आशावादी छिन् ।

हास्य टेलिशृंखला ‘सक्किगो नि’मा नियमित काम गरेकी मुन्नी सातामा दुई दिन सोही सिरियलको सुटिङमा व्यस्त हुन्छिन् । अन्य समयमा म्युजिक भिडियोमा काम गर्छिन् । दुई वर्षको अवधिमा ५० भन्दा बढी भिडियोमा काम गरेकी मुन्नी रियालिटी सो ‘डान्सिङ विथ स्टार’मा दोस्रो भएकी थिइन् ।

काठमाडौंले दिएको खुसीमा मस्तले रमाइरहेकी मुन्नी काठमाडौंको प्रदूषणप्रति भने चिन्तित छिन् । अहिले नेपालका धेरै सहरमा धुवाँधुलो बढ्नुमा अव्यवस्थित सहरीकरण हो भन्ने उनको ठम्याइ छ । नेपाली समाजमा छोराछोरीबीच हुने विभेदलाई नजिकबाट देखेकी मुन्नीले रंगकर्ममा पनि नारी र पुरुषबीच खाडल रहेको अनुभव गरेकी छन् । महिला र पुरुष कलाकारबीच पारिश्रमिकमै विभेद रहेको बताउँदै मुन्नी भन्छिन्, ‘आशा गरौं यो विभेद धेरै समय रहँदैन ।’

कोभिडको संक्रमण बढ्दै गएको अनुभव गरेकी मुन्नी सबैलाई सचेत हुन आग्रह गर्दै भन्छिन्, ‘हामी सचेत भयौं भने मात्रै पनि हामी हाम्रो खुसी हाम्रै घरमा राख्न सक्छौं ।’ राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement