तेस्रो पटक अस्पतालमा भर्ना गरियो मलेसियाका पूर्व प्रधानमन्त्री महाथिरलाई — OSNepal

तेस्रो पटक अस्पतालमा भर्ना गरियो मलेसियाका पूर्व प्रधानमन्त्री महाथिरलाई

LC (KTM) January 23, 2022 0

एजेन्सी – मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहमदलाई केही हप्तामै तेस्रो पटक अस्पतालमा भर्ना गरिएको र उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको उहाँकी छोरीले शनिबार जानकारी दिनुभएको छ । पूर्व प्रधानमन्त्रीको दुई दिनदेखि क्वालालम्पुरस्थित राष्ट्रिय हृदय प्रतिष्ठानमा उपचार भइरहेको र उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छोरी मरिना महाथिरले बताउनुभयो । उहाँ ९६ वर्षको हुनुहुन्छ ।

महाथिरलाई पुनः अस्पताल भर्ना गरिएको खबर फैलिएपछि पछिल्लो स्वास्थ्यस्थितिबारे जानकारी लिन अस्पतालमा सञ्चारकर्मीको भीड देखिएको छ । मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोब अस्पताल पुगी उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको बताइएको छ । करिब पचहत्तर दिनअघि सोही अस्पतालमा उपचार गराई घर फर्किनुभएका महाथिरको नियमित उपचारका लागि भर्ना गरी करिब दुई साता अघि घर लगिएको थियो ।

छोरी मरिनाले भन्नुभयो, “उहाँको उपचारमा सम्लग्न चिकित्सकहरूले उपचारपछि बुवाको शरीरमा सुधारको सकारात्मक सङ्केत देखिएको बताएका छन् । अहिले उहाँको अवस्था स्थिर रहेको छ ।”पूर्व प्रधानमन्त्री महाथिरको परिवारले शुभेच्छुकहरूलाई उहाँको स्वास्थ्यमा पूर्ण सुधारका लागि प्रार्थना गर्न आग्रह गर्नुभएको छ ।

महाथिरले यस पहिले डिसेम्बर २०२१ मा स्वास्थ्य परीक्षणका लागि केही दिन अस्पतालमा विताउनुभएको थियो । पछिल्ला वर्षहरूमा उहाँलाई मुटुसम्बन्धी धेरै समस्या देखिएका छन् । यसका कारण उहाँलाई पटकपटक हृदयघात भएको र अहिले उहाँको बाईपास सर्जरी भइरहेको छ ।

महाथिर मलेसियाका लोकप्रिय राजनीतिक व्यक्तित्वमध्ये एक हुनुहुन्छ । उहाँले मलेसियाको सुधारका लागि महत्वपूर्ण योगदान गर्नुभएको र दुई पटक गरी २४ बर्षसम्म प्रधानमन्त्रीको रूपमा सेवा गरिसक्नुभएको छ । उहाँले सन् १९८१ देखि २००३ सम्म मलेसियालाई नेतृत्व दिनुभएको थियो । मलेसियामा भ्रष्टाचारले व्यापक जरा गाडेको समय उहाँलाई पछि सन् २०१८ मा ९२ वर्षको उमेरमा राष्ट्रवादी गठबन्धन समूहले पुनः प्रधानमन्त्री बनाएको थियो । तर सत्ता सङ्घर्षका कारण उहाँको गठबन्धन सरकार सन् २०२० मा भङ्ग भएको थियो । उहाँलाई मलेसियाको सुधारका लागि राष्ट्रनायकका रूपमा हेर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर