‘कमब्याक’को आशामा जगजित श्रेष्ठ — OSNepal

‘कमब्याक’को आशामा जगजित श्रेष्ठ

LC (KTM) January 24, 2022 0

काठमाडौं, १० माघ -पछिल्ला वर्ष जगजित श्रेष्ठले अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका छन् । २८ वर्षीय यी खेलाडी परिवारसँगै साउथ अष्ट्रेलिया बस्दै आएका छन् । जहाँ उनी स्थानीय क्लबबाट विभिन्न प्रतियोगिता खेलिरहेका हुन्छन् ।

नेपालमा शीर्ष डिभिजन लिगको मिति तय भएसँगै जगजित नेपाल आउँछन् । अघिल्लो समय मनाङ मर्स्याङ्दीबाट खेलेका जगजितले यस पटक आफ्नो गन्तव्य त्रिभुवन आर्मी फुटबल क्लबलाई माने । आर्मीबाट सुरुवातमै ‘प्लेईङ सेट’मा खेलेका जगजितले आफ्नो पुरानो लयलाई कायम रहेको जनाए ।

लिगमा सुरूवाती खेलमा आर्मीले सोचेको प्रदर्शन दिन सकेन । लिग सुरु नहुँदै उसका महत्वपूर्ण दुई खेलाडीले चोट बोकेका थिए । यस्तोमा आर्मीलाई जगजित पनि बरदान नै सावित भए । जगजितले टोलीको लागि शत प्रतिशत थिए ।

सहिद स्मारक ए डिभिजन लिगमा आर्मी जगजितको लागि नयाँ टोली थियो । त्यसका बाबजुद जगजितको प्रदर्शन भने उम्दा रह्यो । लिगको नवौं चरणको खेल सकिँदा जगजितले आर्मीका लागि सबै खेल खेले । नौ खेलमा ६७१ मिनेट (इन्जुरी समयलाई छाडेर) खेलेका जगजितले दुई गोल गरेका छन् भने दुई असिष्ट गरेका छन् ।

यही प्रदर्शनले जगजितलाई राष्ट्रिय टोलीमा तानेको छ । मतलब उनि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् । यदि बन्द प्रशिक्षणमा आफूलाई पुनः प्रमाणित गरेको खण्डमा जगजितले राष्ट्रिय टोलीमा ‘कमब्याक’ गर्नेछन् ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले सातौँ चरणसँगै राष्ट्रिय टोलीको प्रशिक्षणका लागि खेलाडी बाेलाउँदा जगजित अटेनन् । लिगको प्रदर्शनको आधारमा जगजितलाई नबोलाउँदा धेरैले आश्चार्य जनाए । नवौंं चरणपछि पुनः कुवेती नागरिक अब्दुल्लाहले केही खेलाडीलाई मौका थिए । जसमा जगजित सामेल दिए ।

पहिलो पटक टोलीमा जगजितलाई स्थान नदिँदा अब्दुल्लाहले सोही दिन आफ्नो सामाजिक सञ्जालको स्टोरीमा ‘वि क्यान नट बि टु ह्यान्डसम इन द टिम’ राखेका थिए । यस क्रममा उनले जगजितसँग सेल्फी पनि लिएका थिए ।

नेपालले यही १५ र १८ माघमा पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । दशरथ रंगशालामा हुने खेलअघि जगजितले प्रशिक्षणमा अब्दुल्लाहलाई खुसी पार्न सके टोलीमा फर्कनेछन् ।

यदि सफल भएमा जगजित सन् २०१७ पछि पहिलो पटक राष्ट्रिय टोलीमा ‘कमब्याक’ हुनेछन् । ‘धेरै वर्षपछि मलाई अवसर आएको छ । जहाँसम्म लाग्छ मलाई यो अन्तिम अवसर हो । मेरो करियरलाई सार्थकता दिने यही हो अवसर । यसलाई सकारात्मक रुपमा लिएको छु,’ करिब पाँच वर्षपछि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका जगजितले भने ।

जगजित २०६७ सालको सहिद स्मारक ए डिभिजन लिग खेल्न पनि नेपाल आएका थिए । त्यतिबेला मनाङ मर्स्याङ्दी क्लब रोजे । तर, विवादित बन्न पुगे । २२ पुसमा मनाङ र तत्कालीन च्याम्पियन मछिन्द्रबीचको खेल २-२ को बराबरीमा टुंगिएसँगै खेलाडी एकआपसमा हातपात गर्न थाले ।

मैदानमा हानाहानको अवस्था शृजना भएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले मनाङका एक किट म्यानेजरसहित तीन खेलाडी र मछिन्द्रका तीन खेलाडीलाई कारबाही गर्‍याे । जसमा जगजित पनि मुछिए ।

जगजितलाई पाँच खेलको प्रतिबन्धसहित १० हजार जरिवाना गरियो । विवादिन बनेलगत्तै बाँकी खेल गुमाउने भएपछि जगजित पुनः अष्ट्रेलिया लागे ।

यस पटक आर्मीमा भने जगजितले आफ्नो शंकालु प्रवृत्तिलाई हटाउँदै सुधारिएको प्रर्दशन दिन सफल भए । यद्यपि जगजितलाई आर्मी टोलीसँग घुलमिल हुन निकै समय लाग्यो ।

‘आर्मीको टिममा मलाई तालमेल मिलाउन गाह्रो भयो । नेपाल आउँदा नै म बिरामी थिएँ । आर्मीको खेल्ने फरक शैली थियो । त्यहाँ मलाई मिल्न अलि समय लाग्यो । हुन त अझै राम्रोसँग तालमेल मिलेको छैन । अब, लिगमा पनि राम्रो हुन्छ,’ जगजित भन्छन् ।

जगजितले मार्च सन् २०११ र २०१९ मा राष्ट्रिय टोलीबाट डेब्यु गरे । भुटानमा घरेलु टोलीविरुद्ध प्रशिक्षक ग्राहम रोबर्टसले जगजितलाई दोस्रो हाफमा डेब्यु मौका दिएका थिए । तत्कालीन समय अनिल गुरुङको स्थानमा मैदान प्रवेश गरेका जगजित उही अनिलले राष्ट्रिय टोलीबाट सन्यास लिएयता टोली बाहिर छन् ।

सन् २०१७ मा एसियन कप छनोट खेलमा फिलिपिन्सविरुद्ध टोलीमा रहेका जगजितलाई प्रशिक्षक ग्योतोकु कोजीलेले बेन्चमै सिमित गराए । त्यसयता भने जगजित टोली बाहिरै छन् ।

जगजित नेपाली टोलीले १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा र ढाकामा भएको बंगबन्धु गोल्डकप जित्दाका मुख्य खेलाडी हुन् ।

अब, एक पटक पुनः जगजितलाई आफूलाई प्रमाणित गर्दै राष्ट्रिय टोलीबाट बिदाइ लिने अवसरसमेत छ । नेपालमा कमै खेलाडीले यसरी आफूलाई बिदाइ लिने अवसर पाउँछन् ।

जगजितले यदि राष्ट्रिय टोलीको अन्तिम २३ मा आफूलाई स्थान दिन सके पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग राष्ट्रिय टोलीको यात्राबाट बिश्राम लिन पाउनेछन् ।

‘धेरै खुसी लागेको छ । धेरैपछि मौका पाएँ । यहाँ (अभ्यास) को वातावरण पनि राम्रो छ । मेरो शैली र टोलीको शैली पनि यही हो । फाइनलमा चरणमा स्थान बनाए भने धेरै योगदान गर्न सक्छु,’ जगजितले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर