कञ्चनपुरको बेलडाँँडीमा गुणस्तरहीन सामग्रीको प्रयोग गरी ड्रेन निर्माण – OSNepal

कञ्चनपुरको बेलडाँँडीमा गुणस्तरहीन सामग्रीको प्रयोग गरी ड्रेन निर्माण

LC (KTM) January 25, 2022 0

कञ्चनपुर, ११ माघ -शुक्लाफाँटा नगरपालिका–८ बेलडाँँडीमा गुणस्तरहीन सामग्रीको प्रयोग गरी ड्रेन निर्माण गरिएको पाइएको छ । बन्साहा, कलुवापुर, दोमिल्ला जोड्ने सडकखण्डअन्तर्गतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा कमसल खाले बालुवा, इँटा र सिमेन्टको मात्रा तोकिएको मापदण्डअनुरुप राखेको नपाइएपछि वडाध्यक्ष बहादुर महराले सम्बन्धित सरोकारवालाको रोहवरमा ड्रेन भत्काउनुभएको छ ।

सन्तोष थेगिम जेभी नामक निर्माण कम्पनीले ठेक्का प्रक्रियामार्फत ड्रेनसहितको सडक निर्माण गरिरहेको छ । “पटक–पटक गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरी तोकिएको समयमा निर्माण सम्पन्न गर्न आग्रह गर्दा निर्माण कम्पनीले जिम्मेवारीपूर्वक काम अगाडि बढाएन”, वडाध्यक्ष महराले भन्नुभयो, “विभिन्न बहानाबाजी गर्दै अटेरी गर्दै आएको छ । निर्माणमा ढिलासुस्तीसँगै कमसल निर्माण सामग्री प्रयोग गर्न थालेपछि बाध्य भएर ड्रेन भत्काएका छौँ ।”

“निर्माण समयमै सञ्चालन गरी तोकिएका मापदण्ड समयसीमा र गुणस्तरयुक्त कार्य गर्ने निर्माण व्यवसायीको सम्मान गर्दछौँ । निर्माण व्यवसायीको प्रतिष्ठा र निर्माण व्यवसायको बदनामी हुने कार्यमा संलग्न निर्माण व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाहीका लागिसमेत माग गरेका छौँ”, उहाँले भन्नुभयो । निर्माण कम्पनीका प्रतिनिधि नारायण कँडेलले भने ड्रेनलगायत निर्माणमा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग भइरहेको दाबी गर्नुभएको छ ।

“सडक निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेको पाइए निर्माण व्यवसायीलाई कारबाही हुन्छ”, भौतिक पूर्वाधार कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमराज भट्टले भन्नुभयो, “अनुगमन गर्छौँ, ठेक्का सम्झौताबमोजिमको काम गरेको हुनुपर्छ । त्यसविपरीत गरिएको छ भने कारबाही हुन्छ ।” आव २०७७/७८ मा बन्साहा, कलुवापुर, दोमिल्ला जोड्ने सडकका लागि सुदूरपश्चिम सरकारको भौतिक पूर्वाधार कार्यालय महेन्द्रनगरले रु ११ करोड ६३ लाखमा ११ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published.