आफैं सजग भए कोरोना महामारी हट्छ : बेलायतमा कार्यरत चिकित्सक — OSNepal

आफैं सजग भए कोरोना महामारी हट्छ : बेलायतमा कार्यरत चिकित्सक

LC (KTM) January 25, 2022 0

लन्डन, ११ माघ-साबुनपानीले हात धुने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र खोप लगाएर मात्र कोरोनाभाइरसको महामारी हट्न सक्ने बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूले बताएका छन् ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाले नेपलिज डक्टर्स एसोसिएसन युके, नेपलिज नर्सिङ एसोसिएसन युकेसित मिलेर आयोजना गरेको अन्तरर्सवादमा बोल्दै उनीहरूले सो उपाय सुझाएका हुन् ।

कार्यक्रममा बेलायतमा कार्यरत जीपी (जनरल प्राक्टिसनर) डा. आरती थापाले भने, ‘ह्याण्ड, फेस, स्पेस र भ्याक्सिनले मात्र महामारीबाट छुटकारा दिलाउन सक्छ अन्यथा यस्ता महामारीहरू आइरहन्छन् ।’ उनले साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म हात धुने, मास्क लगाउने र एक आपसमा दुई मिटरको सामाजिक दूरी कायम गर्ने साथै कोरोनाभाइरसको खोपका डोजहरू लगाउन सबैलाई आग्रह गरिन् ।

अर्का कन्सल्ट्यान्ट डा.शम्भु आचार्यले पनि कोभिडलाई हेलचेक्रयाइँ गर्न नहुने तर यसबाट आत्तिन पनि नहुने बताए । नियमित व्यायाम गर्ने, सन्तुलित खाना खाने, पर्याप्त सुत्ने र खोप लगाएमा कोभिडबाट हुने असर धेरै कम गर्न सकिने उनको धारणा थियो । ‘खोपले आफूलाई त बचाउँछ नै आफ्नो परिवार, आफन्त, समाज, सिंगो राष्ट्र र विश्वलाई नै कोभिडबाट बचाउन मद्दत गर्छु,’ उनले भने ।

एकै व्यक्तिले फरकफरक खोप लगाउँदा मानिसहरूमा विभिन्न आशंका उत्पन्न भइरहेकोप्रति चिकित्सकद्वयले कुनै शंका–उपशंका नगर्न आग्रह गरे । ‘मिश्रित खोप लगाउँदा प्रतिरोधी क्षमता अझै राम्रो देखिएको विश्वास गरिएको छु,’ उनीहरूको भनाइ थियो ।

खोप लगाउन नचाहने मानिसहरूले के कारण खोप लगाउन नचाहेका हुन् भन्ने बुझ्नपर्ने र त्यो कुरा पाएपछि उनीहरुको चिन्ता हटाउन सकिने डा. थापाले बताइन् । उनले बेलायतमा धेरै मानिसहरूले खोप लाइसकेको, तर अझै कोही लगाउन बाँकी भए वाक इन भ्याक्सिन सेन्टरमा सीधै गएर लगाउन सकिने पनि जानकारी दिइन् ।

खोपका बारेमा कुनै जिज्ञासा भए एनएचएस आप्सबाट वा ११९ नम्बरमा फोन गरेर विस्तृत जानकारी लिन सकिने पनि उनले बताइन् । डा. आचार्यले बेलायतमा खोप लगाउने दर राम्रो भएको बताउँदै नेपालमा भने खोपको सीमित उपलब्धताका कारण पनि खोप अभियान प्रभावकारी हुन नसकेको हो कि भन्ने आशंका व्यक्त गरे । उता डा.थापाले भने खोप अभियान सफल पार्न एउटा विशाल संगठन परिचालन गर्नपर्ने भएकाले राजनीतिक, चिकित्सकीयलगायत धेरै क्षेत्रको उत्तिकै संलग्नता र सक्रियता चाहिने बताइन् ।

कोभिडविरुद्ध खानेलगायत अन्य ओखती बजारमा आएको सन्दर्भमा डा.थापाले अहिले खाने ओखती छानिएका बिरामीलाई सोझै अस्पतालबाट दिइने गरिएको र जीपीले हालसम्म प्रेस्क्राइब नगरेको बताइन् भने डा. आचार्यले कोभिडविरुद्ध नाकबाट दिइने ओखती (हेपारिन) पनि परीक्षण भइरहेको र त्यो सफल भए झनै प्रभावकारी हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर