निर्वाचन आयोगले सरकारलाई दियो निर्देशन : तत्काल स्थानीय तह निर्वाचनको मिति टुंगो लगाउनुहोस् — OSNepal

निर्वाचन आयोगले सरकारलाई दियो निर्देशन : तत्काल स्थानीय तह निर्वाचनको मिति टुंगो लगाउनुहोस्

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । निर्वाचन आयोगले सरकारलाई तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न निर्देशन दिएको छ । यस अघि बसेको सर्वदलीय बैठकले स्थानीय तहको निर्वाचन पछि गर्ने विषयमा छलफल गरेपछि आयोगले फेरि आज मंगलबार अर्को विज्ञप्ती जारी गर्दै निर्वाचनको मिति तोक्न आयोगले निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ , स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गते पहिलो चरण, असार १४ गते दोश्रो चरण र असोज २ गते तेश्रो चरणमा सम्पन्न भएकोमा पहिलो चरण २०७४ वैशाख ३१ गतेलाई आधार मान्दा स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था बमोजिम निर्वाचित पदाधिकारीहरूको कार्यकाल आगामी २०७९ जेठ ५ मा समाप्त हुनेछ ।

आयोगले पहिलो चरणमा वैशाख १४ गते बुधबार र दोश्रो चरण वैशाख २२ गते विहिबार गर्ने गरी दुई चरणमा निर्वाचन गर्न उपयुक्त हुने प्रस्ताव गरेको थियो ।

‘यसर्थ, वर्तमान संवैधानिक एवम् कानूनी ब्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्व हुँदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ ।’

‘तदानुसार स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानूनतः आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकोले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्व तयारीका कार्यहरु निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरे अनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको छ’,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर