पेन्सन बुझ्न मृत शरीर बोकेर कार्यालयमा... — OSNepal

पेन्सन बुझ्न मृत शरीर बोकेर कार्यालयमा…

LC (KTM) January 25, 2022 0

काठमाडौं -पैसाका लागि कसैले मृत मानिसलाई पनि जीवित पेस गर्दा रहेछन् । यस्तै घटनाको साक्षी दक्षिणपूर्व आयरल्यान्डको कार्लोका बासिन्दा बनेका छन् । मृत्यु भइसकेका व्यक्तिलाई ह्विल चेयरमा राखेर एक आफन्तले पेन्सन दाबी गर्न कार्यालय पुगेका हुन् ।

यसै साता सार्वजनिक भएको सो घटनामा कार्लोस्थित हुलाक कार्यालयमा पुगेर ती व्यक्तिले वृद्ध आफन्तको पेन्सन माग्छन् । तर, कार्यालयका कर्मचारीले रकम लिन सम्बन्धित व्यक्ति आफै उपस्थित हुनुपर्ने जबाफ दिन्छन् ।

कर्मचारीको जबाफपछि उनी कार्यालयबाट करिब ५०० मिटरको दूरीमा पुग्छन् जहाँ एक ६६ वर्षका व्यक्तिलाई दुई जनाले ह्विल चेयरमा राखेका थिए । ती ह्विल चेयरमा राखिएका व्यक्ति सेवानिवृत्त पेन्टर पिडर डोयल हुन् । उनका खुट्टा भुईँमा लत्रिएको र अनुहार ढाकिएको थियो ।

ह्विल चेयरसम्म पुगेर ती व्यक्ति फेरि हुलाक कार्यालय पुगेर वृद्ध आउन नसक्ने भन्दै उनको पेन्सन माग्छन् । आईरिस टाइम्सका अनुसार फेरि रकम माग्न आएपछि कर्मचारीले पनि ह्विल चेयरमा बसेका मानिसको स्वास्थ्यबारेमा चासो देखाउँछन् ।

कर्मचारीले जाँच गर्ने क्रममा ती व्यक्ति मृत भेटिन्छन् । कर्मचारी आएपछि उनलाई बोकेका दुई व्यक्तिले ‘वृद्धलाई हृदयघात भएको’ भन्दै शवलाई त्यही छोडेर भागेका थिए । उनलाई समाएका युवा भागेपछि स्थानीयले तत्कालै एम्बुलेन्स बोलाएका थिए । एम्बुलेन्समा आएका स्वास्थ्यकर्मीले डोयल मृत भएको बताएका थिए ।

६६ वर्षीय ती वृद्ध त्यहाँ ल्याउनु अघिल्लो दिनसम्म जीवितै थिए । तर, घरबाट कार्यालय ल्याउने बेलासम्म उनी जीवितै थिए वा मृत थिए भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । उनलाई बोकेका व्यक्तिहरूले भने उनको कार्यालयमा आइसकेपछि मृत्यु भएको दाबी गरेका छन् । ​डोयललाई जीवितै देखाउन उनको अनुहार र शरीर ढाकिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर