म्याग्दीका ४६ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण — OSNepal

म्याग्दीका ४६ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

LC (KTM) January 25, 2022 0

बेनी, ११ माघ -म्याग्दीमा चिकित्सकसहित ४६ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी अस्पताल र अन्य स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी कोरोनाबाट सङ्क्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । बेनी अस्पतालका ४१ स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना सङ्क्रमण भएको छ । चार जना आज आइसोलेसन मुक्त भएका छन् । अस्पतालमा कार्यरत सात चिकित्सकमध्ये चारजनामा कोरोना सङ्क्रमण भएको छ । बेनी अस्पतालमा अहिले ३७ जना सक्रिय कोरोना सङ्क्रमित रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना सङ्क्रमण भएपछि बेनी अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ । सेवा लिन आउने सर्वसाधारणमा अस्पतालबाटै कोरोना सङ्क्रमण फैलनसक्ने भएपछि गत आइतबारदेखि एक साताका लागि ओपिडी सेवा बन्द गरी आकस्मिक सेवाबाट मात्रै उपचार सेवा दिइएको कटुवालले जानकारी दिनुभयो ।

अस्पतालको ओपिडी सेवा बन्द भएपछि आकस्मिक कक्षको सेवासँगै फिवर क्लिनिकसमेत सञ्चालन गरेर उपचार जाँच र उपचार गर्ने प्रबन्ध मिलाइएको छ । आगामी शुक्रबारसम्मको अवस्थालाई दृष्टिगत गरी ओपिडी सेवाको निर्णयमा पुग्ने अस्पतालले जनाएको छ ।बेनी अस्पतालमा म्याग्दीको साथै पर्वतको जलजला गाउँपालिकाबाट समेत सर्वसाधारण उपचारका लागि आउने गरेका छन् । बेनी अस्पतालमा अहिले १२५ जना कार्यरत रहेका छन् । आजसम्म जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २३५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर