खाडी देशमा पसिना बगाउने नेपालीलाई देशको चिन्ता — OSNepal

खाडी देशमा पसिना बगाउने नेपालीलाई देशको चिन्ता

LC (KTM) January 28, 2022 0

विशाल बस्नेत

‘सुन साइँली साइँली परदेशबाट आउँला
सुन साइँली साइँली ४० कटेपछि रमाउँला’

हेमन्त राणाको यो गीतले भनेजस्तै उमेर छँदै परदेश पसेकाहरू उमेर ढल्केपछि घर फर्कन्छन् । वैंसमा नै छाडेकी जीवन संगिनीको कपाल फुल्न थालिसकेको हुन्छ, आउँला र रमाउँला भन्ने आशा गीतले भनेजस्तै उमेर ४० कटेपछि नै सम्भव हुन्छ ।

कलकलाउँदो उमेरमा पालेका रहरहरू जीवनको तेस्रो घुम्तीमा छल्किरहन्छन्, झल्कीरहन्छन् । भूतकालमा टुटेका सपनाहरूले भत्भती बुढेसकालमा बेस्सरी पोलिरहन्छन् ।

कसैले विवाह गरेको १५ दिनमै चटक्क छाडेर परदेश जानुपरेको छ । कसैले वैवाहिक उमेर नै परदेशमा बिताउनुपरेको छ । असन्तुलित खानपानले बाँझोपनको समस्या चौतर्फी बढीरहेको छ । महिला–पुरुषमा यौन विकृतिले कयौँको घरबार तहसनहस बनिसकेको छ ।

सबै जना पासपोर्ट बनाउने उमेर पुगेपछि रहरले विदेश जाँदैनन् । अधिकांश कहरले जानुपरेको छ । देशभित्र देखिएका नमिठा यथार्थ भित्रका प्रत्यक्ष दृष्टान्तहरूले देशभित्रै जागिर गरेर जिउन सकिन्छ भन्ने साहस र आश दुवै कम हुँदा युवा विदेश पहलायन हुन बाध्य भएका छन् । युवा विदेश पहलायनको कारण यो मात्र होइन । देशभित्र भइरहेका घुसखोरी, भ्रष्टाचार, अस्थिर राजनीति, नातावाद, कृपावादले पनि युवा पलायनलाई उत्प्रेरित गरिरहेका छ ।

परदेशका आँगन, गल्ली, फराकिला सडक, सपिङ महल, आलिसान बंगाला, श्रमिक क्याम्पमा भेटिरहने नेपालीहरूको गुनासोले परदेशका सकरात्मक पाटाहरूलाई स्वदेशमा पूरा हुन नसकेका सपना, पारिवारिक र सामाजिक बिछोडले एकैछिनमा विस्थापन गरिदिन्छ ।

परदेशमा ठूलाठूला मेट्रो स्टेसन, फराकिला सडक, ट्राफिक व्यस्थापन अनि सरकारको जनताप्रतिको जिम्मेवारी देख्दा नेपालीले जिब्रो टोक्नुपर्छ । किनकि हाम्रो देशमा बलात्कार गरेर सडकमा फालिएकी चेलीले न्याय पाउन सक्दिनन्, विकाशका उदेक लाग्दा संरचनाहरूको भग्नावेषले देशको करौडौ खर्च मर्मतसम्भारमा नै जान्छ । समृद्धि र विकासको नारा नारामै सीमित बनेको छ । जनता सधैँ एक छाकका लागि भौँतारिनु परेको छ । नेताहरू धनाढ्य बन्दै गएका छन् । विकास निर्माण सुस्त देखिन्छ ।

अफ्रिकी देशहरू युगाण्डा, नाइजेरियाका मानिसले नेपालीलाई खिस्याउँछन् । नेपालीहरू सामान्य विकाशलाई त ‘ओहो’ भन्छन् भने विकाशका दृष्टिले नेपाल धेरैपछि रहेको सहजै अनुमान लगाएर उनीहरू नेपालीलाई हेर्ने दृष्टीकोण नै परिवर्तन गर्छन् ।

नेपालमा यातायातको मात्र हैन हरेक विकाशका संरचनाहरू धेरै पछाडि छन् । सामान्य कामलाई सरकार नया युगको सुरुवात भनेर छाती ठोक्छ । तर, दूर्गम भेगका जनताहरूले अझै जीवनजल पाउन सकेका छैनन् । गरिबीको कारणले उपचार गर्न नसकेर ज्यान गुमाइरहेका छन् । तराई मधेशसहित स्थानमा बाढीपहिरोले धेरैलाई बर्सेनि घरबारविहीन बनाउने गरेको छ ।

अन्यायमा परेकाहरू न्याय पाउँदैनन् । अपराध गर्नेलाई सजाय हुँदैन अनि कानुन कसको लागि भन्ने विषयले नेपालमा बेला–बेलामा चर्चा पाइरहन्छ । परदेशमा आफ्ना नागरिकलाई परिवार र आफ्नो जीवनगुजाराका लागि इमान, जवान र स्वाभिमानलाई बन्धकी राख्न विवस बनाउने नेता र सरकारलाई लज्जा छैन ।

यूएईको केही समयको बसाइमा एक जना पाकिस्तानीसँगको भेटमा यो पंक्तिकारको ठूलो चर्काचर्की भयो । मुस्लिम धर्मका सिया समुदायभित्रका मुहमबद इद्रीससँगको विवाद धर्म हुँदै विकाससम्म पुग्यो । हुन त कुनै पनि देशको विकाश र कानुनको लागि धर्म, रीतिरिवाज र संस्कारले ठूलो भुमिका खेलेको हुन्छ ।

उनले प्रसङ्ग आफ्नो देशको कानुनबाट सुरु गरे । हामीलाई अचम्म लाग्न सक्छ, मुस्लिम देशहरूमा त्यहाँको कानुन ९० प्रतिशत कुरानको आधारमा बनेको हुन्छ । पाकिस्तान त्यसको अपवाद त हुने कुरै भएन । उनले हिन्दु धर्र्मभित्रका केही पाटाहरूलाई खोतर नेपाली ६० प्रतिशत धर्म र संस्कृतिकै कारण गरिब भएका हौँ ।

उनको तर्कमाथि केही प्रतिवाद गरेँ । उनको भ्रमलाई चिर्ने प्रयास गरेँ । उनले भनेका केही शब्दहरूले बेस्सरी घोच्यो पनि । कस्तो देशको नागरिक भएर जन्मिएछु ? प्रश्न पनि मन उठ्यो।

विदेशमा पसिना र रगत बगाउने नागरिकलाई मात्र देशको राष्ट्रियता र मायाको चिन्ता हुनुपर्ने हो कि देशमै बसेर ठूलाठूला भाषण गरी जनतालाई आँखामा छारो हालिरहने नेताहरूलाई पनि हुनुपर्ने हो ? आफैँलाई मनमनै प्रश्न गरेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर