कालीकोटमा पहिलोपटक इँटा उद्योग सञ्चालनमा — OSNepal

कालीकोटमा पहिलोपटक इँटा उद्योग सञ्चालनमा

LC (KTM) January 28, 2022 0

मान्म, १४ माघ-कालीकोटमा इँटा उद्योग सञ्चालनमा आएको छ । जिल्ला बाहिरबाट इँटा ल्याउनुपर्ने बाध्यता हटाउनका लागि यहाँ इँटा उद्योग सञ्चालनमा ल्याएको हो । कर्णालीका हिमाली जिल्ला जुम्ला, मुगु, कालीकोट र दैलेखलाई लक्षित गरेर कालीकोटमा पहिलोपटक इँटा उद्योग सञ्चालनमा आएको छ । जिल्लाको तिलागुफा नगरपालिका–९ चिल्खायाका चारजना स्थानीय युवाले सो उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।

करिब रु ३० लाखको लागतमा सो उद्योग सञ्चालनमा ल्याएको सञ्चालक टेकराज शाहीले बताउनुभयो । “इँटा उत्पादन सुरु भएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म करिब एक लाख ५० हजार इँटा उत्पादन भइसकेको छ । अब बिक्रीका लागि मागअनुसार उत्पादन गर्ने तयारीमा छौँ ।”

छिटो, छरितो, आकर्षक र कम लगानीमा घर निर्माण गर्न चाहनेका लागि यो इँटा निकै उपयोगी रहेको उद्योग सञ्चालक शाहीको भनाइ छ । रातो इँटाको लागत प्रतिइँटा रु २४÷२५ पर्ने उहाँको भनाइ छ । सो उद्योगमा २७ जनाले रोजगारी पाएका छन् । तराईका जिल्लाबाट ढुवानी गरी ल्याउँदा महँगो पर्ने भएकाले यहाँ उत्पादित इँटा प्रयोग गर्दा सहज र सस्तो हुने उद्योग वाणिज्य सङ्घ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर