कोरोना तिब्र रुपमा बढ्दै गएपछि जुम्लामा राखियो एकीकृत हेल्प डेस्क — OSNepal

कोरोना तिब्र रुपमा बढ्दै गएपछि जुम्लामा राखियो एकीकृत हेल्प डेस्क

LC (KTM) January 28, 2022 0

खलङ्गा, १४ माघ -कोरोना सङ्क्रमण बढेसँगै जुम्लामा एकीकृत सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ ।कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको निर्णयानुसार जिल्ला प्रशासन कार्यालय अगाडि हेल्प डेस्क स्थापना गरिएको हो । उक्त डेस्कबाट कोभिड– १९ विरुद्धको खोप लगाउने, शङ्कास्पद व्यक्तिका लागि आरडिटी र एन्टिजेन परीक्षण गर्ने, मास्क बैङ्कको व्यवस्था गर्ने र ज्वरो मापन तथा कोभिड–१९ बारेमा जनचेतना प्रदान गरिने प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताउनुभयो ।

जिल्ला प्रशासन र जनस्वास्थ्य कार्यालय जुम्ला, चन्दननाथ नगरपालिका तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाद्वारा सयुक्त रुपमा सो डेस्क स्थापना गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो । मास्क, स्यानिटाइजर, आरडिटी, एन्टिजेन परीक्षण र खोपहरुको व्यवस्थापन जनस्वास्थ्य कार्यालयले गरेको छ । एकीकृत हेल्प डेस्कले जनस्वास्थ्यका मापदण्डहरुलाई प्रवद्र्धन गर्नेछ ।

विश्वव्यापी रूपमा फैलिरहेको कोरोना बाट हुन सक्ने महामारीलाई दृष्टिगत गर्दै हेल्प डेस्क स्थापन गरी सञ्चालनमा ल्याएको प्रजिअ प्रसाइँले बताउनुभयो । कोरोना सङ्क्रमित बिरामीको पहिचानका लागि एकीकृत हेल्प डेस्क सञ्चालनमा ल्याएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । कोरोना भाइरस सङक्रमण हुन नदिन जनचेतनामूलक सन्देश प्रवाह गर्न पनि हेल्प डेस्कको महत्वपूर्ण योगदान हुने यहाँका स्थानीयवासी बताउँछन् ।

कोभिड–१९ का बारेमा जानकारी दिन र बिरामीको पहिचान तथा जाँच, सवारी साधनमार्फत जुम्लाबाट बाहिरिने र भित्रिने यात्रुहरुलाई कोरोना भाइरसबाट बच्ने उपाय र रोगका लक्षणबारे जानकारी गराउने उद्देश्यले हेल्प डेस्क स्थापना गरिएको चन्दननाथ नगरपालिका जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताउनुभयो ।(रासस )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर