महिला भगाउँदै गरेका एक व्यक्ति पक्राउ — OSNepal

महिला भगाउँदै गरेका एक व्यक्ति पक्राउ

LC (KTM) January 28, 2022 0

बैतडी, १४ माघ-महिलालाई भगाएर लैजाँदै गरेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका-१ का ३२ वर्षीय मनोज धामी रहेका छन् । बिहीबार महिलासहित पक्राउ परेका उनलाई आज आफन्तको जिम्मा लगाइएको छ ।

मुद्दा दर्ता गर्ने सहमतिपछि आज धामीलाई आफन्तको जिम्मा लगाएको सिमार प्रहरी चौकीले जनाएको छ । आइतबार जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिने प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले बताए ।

आरोपित धामीलाई २७ वर्षीय एक महिलालाई भगाएर लैजाँदै गरेको अवस्थामा बिहीबार राती साढे ११ बजे सेला भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको थियो । धामीले भगाएर लैजाँदै गरेको महिलाका आफन्तले प्रहरीलाई सूचना दिएपछि सिमार प्रहरीले जिपमा सवार दुबैलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएको भोलिपल्ट शुक्रबार बिहान महिला र पुरुषका आफन्तलाई बोलाएर जिल्लामा मुद्दा दर्ता गर्ने सहमतिसहित आफन्तको जिम्मा लगाइएको हो ।

महिलालाई भने उनका ससुराको जिम्मा लगाएको र पुरुष धामीलाई उनका भाइ नातापर्ने एक व्यक्तिको जिम्मा लगाएको प्रहरी सहायक निरीक्षक कार्कीले बताए । शनिबार बिदा भएकोले आइतबार मुद्दा दर्ता गर्नेगरी दुवैलाई आफन्तको जिम्मा लगाएको उनले बताए ।

महिला र पुरुष दुवैका दुई-दुई सन्तान रहेका छन् । महिलाका श्रीमान् विदेशमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर