विहार राज्यसँग सीमा जोडिएको केचना नाकामा निर्मित विओपीको मुख्यमन्त्रीद्वारा उद्घाटन — OSNepal

विहार राज्यसँग सीमा जोडिएको केचना नाकामा निर्मित विओपीको मुख्यमन्त्रीद्वारा उद्घाटन

LC (KTM) January 31, 2022 0

झापा, १७ माघ -भारतको विहार राज्यसँग सीमा जोडिएको दक्षिणी झापाको केचना नाकामा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) को आज प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ को सीमालगायत शान्तिसुरक्षामा प्रदेश सरकारले विशेष ध्यान दिइरहेको बनाउनुभयो । उहाँले अन्तर्राष्ट्रिय सीमा सुरक्षाका लागि प्रदेश सरकारको सहयोगमा नवनिर्मित बिओपी भवनले सशस्त्र प्रहरीलाई काम गर्न थप हौसला प्रदान हुने अपेक्षा रहेको बताउनुभयो ।प्रदेश नं १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आव ०७६÷७७ मा विनियोजन गरेको रु एक करोड ४२ लाख एक हजारमा कचनकवल गाउँपालिका–४ मा बिओपी भवनको निर्माण गरिएको हो । यसअघि सामुदायिक वनभित्र अस्थायी संरचना बनाएर सशस्त्र प्रहरीलाई राखिएको थियो । बिओपी भवन निर्माणका लागि स्वामी नारायण निर्माण सेवा धरानले ठेक्का लिएको थियो ।

उहाँले बिओपी निर्माणका लागि चार कट्ठा १४ धुर जग्गा निःशुल्क प्रदान गर्ने रघुनन्दन गणेश र उहाँकी पत्नी प्रतिमाकुमारी गणेशलगायत भवन निर्माणमा सहयोग गर्नेलाई सम्मानसमेत गर्नुभएको थियो । बिओपीमा कार्यालय भवन, गार्ड क्वार्टर, ब्यारेक, भान्सा, शौचालय, गेटलगायत निर्माण गरिएको छ । हाल बिओपी केचनामा इन्स्पेक्टर भक्त थापासहित ४५ सशस्त्र प्रहरी कार्यरत छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रदेश नं १ बराहवाहिनी मुख्यालय सुनसरीका डिआइजी कमल गिरीले यस प्रदेशमा भारततर्फ ५० र चीनतर्फ दुईवटा गरी जम्मा ५२ वटा बिओपी स्थापना भइसकेको बताउनुभयो । झापामा १८ वटा बिओपी र २८ वटा एफओपी स्थापना गरी सशस्त्रले सीमा सुरक्षा गरिरहेको उहाँको भनाइ छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर