मैत्रीपुर्ण खेलमा मरिसस माथि नेपालको दोस्रो जित — OSNepal

मैत्रीपुर्ण खेलमा मरिसस माथि नेपालको दोस्रो जित

LC (KTM) February 01, 2022 0

नेपाली राष्ट्रिय फुटबल टिमले मैत्रीपूर्ण खेलमा दोस्रो पटक पनि अफ्रिकी राष्ट्र मरिससलाई पराजित गर्न सफल भएको छ । मंगलबार भएको तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई एक शुन्य गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे ।

खेलको दशौँ मिनेटमा सुजलले निर्णायक गोल गरेका थिए । उनको यो नेपालका लागि तेस्रो गोल हो । यता, मरिसस पेनाल्टीमा चुक्दा नेपालसँग लगातार हार व्यहोर्न बाध्य भएको छ । खेलको १३ औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बचाएका थिए।

खेलको ८० औं मिनेटमा मरिसस र नेपाल १० खेलाडीमा समेटियो । एक अर्काविरुद्ध घम्साघम्सीमा उत्रिएपछि मरिससका एड्रियन बोटलरले दुई पहेलो कार्डसहित रातो कार्ड पाए । नेपालका पुजन उपरकोटीलाई पनि दुई पहेलो कार्डसहित रातो कार्ड देखाउदै रेफ्री नविन्द्र महर्जनले मैदानबाट बाहिर पठाएका थिए। त्यसको ४ मिनेट बित्न नपाउँदै मरिसस ९ खेलाडीमा समेटियो ।

गौतम श्रेष्ठलाई फउल गरेपछि मरिससका इम्यानुएलले रातो कार्ड पाएका थिए । यस जितसँगै नेपालले मरिससविरुद्ध लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर