स्वास्थ्यकर्मीहरु सङ्क्रमित खोज्न औषधीसहित घरघरमा आउन थाले,अब त कोरोना लागे पनि बचिन्छ होला — OSNepal

स्वास्थ्यकर्मीहरु सङ्क्रमित खोज्न औषधीसहित घरघरमा आउन थाले,अब त कोरोना लागे पनि बचिन्छ होला

LC (KTM) June 06, 2021 0

डोटी, २३ जेठ – दोस्रो चरणको कोरोना कोभिड–१९ का कारण जिल्लावासी आक्रान्त बन्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि यहाँका स्थानीय तहले आफ्ना विभिन्न प्रयास शुरु गरेका छन् । यहाँका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरु सङ्क्रमित खोज्न औषधीसहित घरघरमा जान थालेपछि नागरिकमा पनि आडभरोसा मिलेको पाइएको छ । स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधिहरु पनि आफ्ना नागरिकको सुरक्षाका लागि गाउँ तथा घरमा आउन थालेपछि नागरिकहरु खुशी हुन थालेको जोरायल गाउँपालिका–५ गड्सेराका गगनसिंह चोखालले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा स्वास्थ्यकर्मी र जनप्रतिनिधि औषधि लिएर आउन थालेका छन्, अब त कोरोना लागे पनि बचिन्छ होला भन्ने आशा जगाएको छ ।”

डोटी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि यहाँका स्थानीय तहले स्थानीयवासीका घरघरमा गएर सङ्क्रमितको खोजी गर्न थालेका हुन् । यहाँका नौवटा स्थानीय तह दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, आदर्श गाउँपालिका, सायल, पूर्वीचौकी, बोगटान फुड्सिल, केआइसिंह, बडिकेदार तथा जोरायल गाउँपालिकाले पछिल्लो समय आफ्ना वडामा रहेका नागरिकको घरैमा गएर कोरोना जाँच गर्न थालेका छन् । यहाँका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीहरुले घरघरमा गएर बिरामीहरुको एन्टिजेन परीक्षण गर्न थालेको बताइएको छ ।

जिल्लामा हालसम्म सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार १०० पुगेको छ भने सातजनाको ज्यान गइसकेको छ । भारतबाट घर आएका नागरिकहरुको सीमा क्षेत्रमा कोरोनासम्बन्धी जाँच नगरिएका कारण यहाँका गाउँघरमा कोरोना सङ्क्रमित बढेको स्थानीयवासीको बुझाइ छ । पछिल्लो समय कोरोना महामारी समुदायस्तरमै फैलिन थालेपछि यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा गाउँगाउँमा स्वास्थ्यकर्मी गएर सङ्क्रमितको खोजी कार्य गर्न थालिएको जिल्ला अस्पताल डोटीका सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताउनुभयो । उहाँले भन्नभयो, “समुदायका कोरोना सङ्क्रमण फैलिएको पाइएपछि हामीले स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा घर घरमा गएर सङ्क्रमितको खोजी गर्दै उपचार गर्न थालेका छौँ, जसले गर्दा नागरिक र समुदायले राम्रो हुने भएको छ ।” कोरोना सङ्क्रमितको खोजी कार्यसँगै यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीले आ–आफ्ना पालिका तथा वडाहरुमा स्वास्थ्य सेवालाई समेत प्रभावकारी बनाउन थालेका छन् ।

समुदायमा कोरोना सङ्क्रमणको अवस्था र जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कोरोना परीक्षण, स्वास्थ्य सामग्री र औषधी वितरण जस्ता कार्यक्रमलाई अगाडि बढाएको जोरायल गाउँपािलकाका स्वास्थ्य संयोजक गोविन्दबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य बचाउन हामीले घरैमा पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियानलाई तीव्रता दिएका छौँ, कोरोना लाग्नेबित्तिकै मरिन्छ भन्ने छैन, हामी बचाउने प्रयास गर्नेछौँ ।” यसैगरी जिल्लाको शिखर नगरपालिकामा रहेको नगर स्वास्थ्यले पनि नगरपालिकामा रहेका स्वास्थ्य समस्या देखिएका २० जनाको आज एण्टिजेन परीक्षण गरेको छ । परीक्षणमा १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिनुभयो ।

जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमणले महामारीको रुप लिने अवस्था सिर्जना भएपछि यहाँका स्थानीय तहले गाउँमै आफ्ना स्वाथ्यकर्मी परिचालन गरी सबैको एन्टिजेनमार्फत् कोरोना परीक्षण गर्ने कार्यलाई तीव्रता दिन थालिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको छ, गाउँमा पनि कोरोना सङ्क्रमण फैलिएकाले महामारी नफैलियोस भन्दै हामीले स्वास्थ्यकर्मी परिचालन गरी सङ्क्रमितको खोजी कार्य शुरु गरेका छौँ ।”

पछिल्लो समय यहाँका स्थानीय तहले परिचालन गरेका स्वास्थ्यकर्मीले भारतबाट रोजगारी गरी गाउँ आएर सङ्क्रमित भएकाहरु हालै कहाँ गएका थिए भनेर खोजी गर्न थालेका छन् । कोरोना परीक्षण गर्ने एन्टिजेन किट उपलब्ध भएपछि बल्ल यहाँका स्थानीय तहहरु गाउँ गाउँमा गएर कोरोना सङ्क्रमित खोज्न थालेको केआइसिंह गाउँपालिका–५ का शिक्षक चेतराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढेको देखिन्छ, ढिलै भएपनि स्थानीय सरकारले कोरोना सङ्क्रमित खोजी गर्ने काम थालेको छ, अब भने कोरोना सङ्क्रमणले महामारीको रुप लिदैन भन्ने लागेको छ ।”

यहाँका गाउँघरमा स्वास्थ्य समस्या देखिएका बिरामीहरु र भारतलायतका अन्य मुलुकबाट आएका व्यक्तिहरुको एन्टिजेन बिधिबाट कोरोना परीक्षण गर्ने गरी स्वास्थ्यकर्मीहरु परिचालन भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत सूर्य विष्टका अनुसार कोरोना परीक्षणबाट यहाँका गाउँ तथा समुदायमा कोरोना सङ्क्रमितको अवस्थाका बारेमा जानकारी हुने र सोही अनुसार स्वास्थ्यका गतिविधिलाई अगाडि बढाउने स्वास्थ्य कार्यालयको योजना रहेको छ । गाउँमा परिचालन भएका स्वास्थ्यकर्मीहरुले तत्काल बिरामी भइहाले आवस्यक पर्ने औषधी, स्वास्थ्य सामग्री मास्क र स्यानिटाइजर समेत घरघरमा पुगेर बितरण गर्न थालेको गड्सेरा स्वास्थ्य चौकीका अनमी बिधि भण्डारीले जानकारी दिनुभयो ।

यसैगरी शिखर नगरपालिकास्थित स्वास्थ्य कार्यालयले पनि बिरामीबाट अरुमा सङ्क्रमण नफैलियोस् भन्ने हेतुले कोरोना लक्षण देखिएका व्यक्तिले प्रयोग गर्न सर्जिकल मास्क, स्यानिटाइजर उपलब्ध गराउन थालेको स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिनुभयो । आइसोलेशनमा बसेका समयमा एक्कासी ज्वरो आए स्वास्थ्य संस्था पुग्नुअघि औषधी सेवन गर्न मिलोस भन्ने उदेश्यले प्यारासिटामोल पठाउन थालिएको नगर स्वास्थ्यले जनाएको छ । यतिमात्र नभइ यहाँका स्थानीय तहले बल्ल आएर भारतबाट रोजगारी गरी घरफर्किएका नागरिकहरु होम तथा विद्यालयको आइसोलेसनमा बसेका नागरिकहरुको स्वास्थ्य अवस्थाका बारेमा समेत जानकारी लिनुका साथै निगरानी समेत गर्दै आएका छन् ।

पछिल्लो समय कोरोना सङ्क्रमित भएकाहरुलाई पनि यहाँका बिभिन्न संघ संस्थाहरुले पौष्टिक खानेकुराको पनि व्यवस्थापन गर्न थालेका छन् । जिल्लामा कार्यरत सम विकास केन्द्र (इडिसी) नामक एक गैरसरकारी संस्थाले यहाँका कोरोना सङ्क्रमितलाई पोषणयुक्त खानाको व्यवस्था गरेको छ । उक्त संस्थाले जिल्ला अस्पतालको आइसोलेशन कक्षमा भर्ना भएका कोरोना सङ्क्रमितलाइ २१ दिनसम्म पोषणयुक्त खाना खुवाउने निर्णय गरी खानाको व्यवस्था मिलाएको छ । संस्थाले यही जेठ ११ गतेदेखि कोरोना सङ्क्रमितलाइ पोषणयुक्त खाना खुवाउन थालेको कार्यक्रम संयोजक केशव परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमितलाई पोषणयुक्त खाना खुवाए कोरोना जित्न सहज हुने भएकाले हामीले २१ दिनसम्म पोषणयुक्त खाना दिन थालेका छौँ, जसले गर्दा उनीहरुलाई कोरोना जित्न निकै सहज हुनेछ ।”

विदेशी दातृ निकाय एक्शन एड नेपालसँगको सहकार्यमा उक्त संस्थाले आइसोलेशनमा भर्ना भएका सङक्रमित तथा उनीहरुका कुरुवाको लागि खानाको व्यवस्था मिलाएको जिल्ला अस्पताल डोटीले जनाएको छ । अस्पतालभित्र रहेको क्यान्टीन र सम विकास केन्द्रबीच सम्झौता भएअनुसार क्यान्टीन सञ्चालकले प्रतेक दिन रु ५० मा विहानको नास्ता, फलफुल तथा रु १३० मा विहानको खाना दिने गरेका छन् । यसैगरी रु ५० को दिउँसोको नास्ता, फलफल तथा साँझको खाना समेत दिने गरेका छन् । यसैगरी जिल्ला अस्पतालका ९० वटा अक्सिजन सिलिण्डरको रकम पनि संस्थाले व्यहोर्ने अस्पतालसँग समन्वय भएको संस्थाका अध्यक्ष अधिराज बिसीले जानकारी दिनुभयो ।

यसैगरी मानवीय सेवामा अनेकौँ प्रयास नामक गैरसरकारी संस्था, साइन नेपाल आदिले पनि यहाँका विभिन्न स्थानीय तहमा एन्टिजेन तथा स्वास्थ्य सामग्री वितरण गर्न थालेका छन् । उक्त संस्थाले जिल्लाको पुर्वीचौकी, आदर्श, सायल, दिपायल सिलगढी, शिखर नगरपालिका तथा केआइसिंह गाउँपालिकामा कोरोना परीक्षण गर्न आवश्यक पर्ने एन्टिजेन किट तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । यसैगरी उक्त संस्थाले जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि एन्टिजेन किट, सर्जिकल मास्क, स्यानिटाइजर, ग्लोब्स, पिपिई सेट, अक्सोपल्सलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो ।

उक्त संस्थाले डोटीमा मात्रै लाखौँ रुपैयाँ बराबरका स्वास्थ्य सामग्री बितरण गरेको बताइएको छ । साइन नेपाल संस्थाद्वारा सञ्चालित केयर एण्ड रिलिफ परियोजना अन्तर्गत प्रायः सबै गाउँपालिकामा एक सय किट एन्टिजेन, पाँच हजार सर्जिकल मास्क, १० लिटर स्यानिटाइजर, ५० जोडी ग्लोब्स, दुई सेट पिपिई, दुई थान अक्सोपल्स मिटर हस्तान्तरण गरेको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर