नेपाली लेखक संघलाई कांग्रेसको शुभेच्छुक भ्रातृसंस्था बनाउने कि नबनाउने विषयमा तीव्र बहस — OSNepal

नेपाली लेखक संघलाई कांग्रेसको शुभेच्छुक भ्रातृसंस्था बनाउने कि नबनाउने विषयमा तीव्र बहस

LC (KTM) March 09, 2022 0

काठमाडौं, २५ फागुन -लोकतन्त्रवादी लेखकहरूको समूह नेपाली लेखक संघले सातौं राष्ट्रिय अधिवेशनको तयारी थालेको छ । आगामी १८ र १९ चैतमा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । संघले तीन÷तीन वर्षमा अधिवेशन गर्दै आए पनि २०७३ सालमा छैटौं अधिवेशन भएपछि सातौं अधिवेशन गर्नसकेको छैन । कोरोना महामारीलगायत अन्य कारणले अधिवेशन गर्न नसकेको संघको भनाइ छ ।

छैटौं अधिवेशनबाट अध्यक्ष चुनिएका साहित्यकार डा.नवराज लम्सालले अध्यक्ष बनेको केही महिनामै राजीनामा दिएपछि वरिष्ठ उपाध्यक्ष श्रवण मुकारुङले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन् । सातौ राष्ट्रिय अधिवेशन मूल आयोजक समितिका संयोजक डा.रत्नमणि नेपालले अधिवेशनको तयारीस्वरूप साहित्यिक प्रकाशन ‘लेखक’ अन्तिम तयारीमा पुगेको बताए । लेखक फागुन अन्त्यसम्म प्रकाशन गर्ने गरी काम भइरहेको उनको भनाइ छ ।

नेपालका अनुसार समितिले अधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने काम पनि गरिरहेको छ । संघका ५७ जिल्लामा रहेका जिल्ला कार्यसमितिबाट विवरण संकलन गर्ने काम समितिले गरिरहेको हो । विवरण संकलनको काम आगामी चैत पहिलो सातासम्म सक्ने समितिको योजना छ ।

अधिवेशनमा नयाँ नेतृत्व चयनसँगै वैचारिक, साहित्यिक बहस, कवि गोष्ठी, स्रष्टा सम्मानलगायत कार्यक्रम गर्ने अधिवेशन मूल आयोजक समितिले जनाएको छ । तसर्थ अधिवेशनबाट कसले के पद प्राप्त गर्छ भनेर मात्रै सहभागी हुनुभन्दा पनि कार्यक्रममा के के हुँदैछ भनेर जिज्ञासा राखिदिन संघमा सरोकार राख्ने सबैलाई संयोजक नेपालले आग्रह गरेका छन् । नेपाली लेखक संघलाई गरिमामय, ऊर्जाशील, नीति विचार योजना दिन सक्ने व्यक्तिको नेतृत्व आवश्यक परेको उनले बताए ।

संघका पूर्वअध्यक्ष डा. तुलसी भट्टराई गुट-उपगुट नबनाई सबैलाई समेटेर लैजान सक्ने नेतृत्व आवश्यक रहेको बताउँछन् । ‘परिवर्तनशील लेखकीय मान्यतालाई कायम गर्दै लेखक स्वाभिमान र स्वतन्त्रतालाई समेट्न सक्ने सक्षम व्यक्तिले संघको नेतृत्व सम्हाल्नुपर्छ, राजनीतिबाट निर्देशित हुनुभएन,’ उनले न्युज कारखानासँग भने ।

संघकी पूर्वकेन्द्रीय सदस्य ज्ञानु पाण्डे सहमतिमा सर्वमान्य नेतृत्व ल्याउनुपर्ने बताउँछिन् । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भए पनि सकेसम्म सबैलाई समेटेर लैजान सक्ने सर्वमान्य नेतृत्व संघका लागि आवश्यक रहेको उनको भनाइ छ । लेखक संघ सक्रिय हुन नसकेको भन्दै लामो समयदेखि आलोचना हुँदै आएको छ । सरोकारवालाले आगामी नेतृत्व गतिशील आउने अपेक्षा गरेका छन् ।

संघभित्रको मुख्य बहस र विवाद
संघलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्था बनाउनु हुन्छ कि हुन्न भन्ने विषयमा संघभित्र ठूलो बहस चलिरहेको छ । संघका पदाधिकारी, पू््र्वपदाधिकारी तथा योसँग सरोकार राख्ने केहीले शुभेच्छुक संस्था बनाउनुपर्छ भनेका छन् । केही भने यसको विरोधमा छन् ।

संघका सचिव नवीनचन्द्र घिमिरे संघलाई पार्टीको शुभेच्छुक संस्था बनाउनुपर्ने पक्षमा छन् । ‘संघमा बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद अपनाइएको हो, पार्टीको शुभेच्छुक संस्था बनाउँदा लेखन र अभिव्यक्ति स्वतन्त्रता खोसिँदैन,’ उनले भने, ‘लेखकीय स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालगायत समग्र स्वतन्त्रताको वैचारिक धरातलमा हामी छौँ, पार्टीको सुभेच्छुक संस्था हुँदै गर्दा पनि जसरी कांग्रेसका हरेक सदस्य विचार र मत दिन स्वतन्त्र हुन्छन्, त्यसैगरी हामी लेखकहरू पनि स्वतन्त्र हुन्छौं । तसर्थ शुभेच्छुक संस्था बनाउँदै गर्दा पनि पार्टीको हरेक विचार, सिद्धान्त र नीतिले किचेको हुँदैन । ’

संघका पूर्वअध्यक्ष भट्टराई भने संघलाई राजनीतिक दलको छायाँमा पार्न नहुने तर्क गर्छन् । उनी भन्छन्, ‘संघलाई कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा दर्ता गराउनुभन्दा कर्म बलियो गर्नुपर्छ ।’

संघकी पूर्वकेन्द्रीय सदस्य पाण्डे लेखक आफैंमा एउटा शक्ति र सत्ता समान भएकाले लेखक संघलाई पार्टीको शुभेच्छुक संस्था बन्न आवश्यक नरहेको बताउँछिन् । वैचारिक र स्वतन्त्रताको हिसाबले संघले कांग्रेसमा आस्था राख्ने भए पनि लेखकहरू राजनीतिज्ञ हुन नसक्ने उनको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर