आजदेखि कर्णालीको बजेट अधिवेशन शुरु हुँदै,कोरोना महामारीका विषयमा केन्द्रित हुने — OSNepal

आजदेखि कर्णालीको बजेट अधिवेशन शुरु हुँदै,कोरोना महामारीका विषयमा केन्द्रित हुने

LC (KTM) June 07, 2021 0

कर्णाली – कर्णाली प्रदेशसभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अपराह्न २ः०० बजे प्रदेशसभा भवनमा बोलाइएको अधिवेशन प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेटका साथै कोरोना महामारी नियन्त्रणलगायतका विषयमा केन्द्रित हुनेछ ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएका अधिवेशन आह्वान, मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजनसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । बैठकमा दलका नेताले समसामयिक विषयमा धारणा राख्ने कार्यसूची पनि रहेको सचिव बुढाथोकीले जानकारी दिनुभयो ।

यसअघि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अविलम्ब बजेट अधिवेशन बोलाउन माग गरेको थियो । सभामुख राजबहादुर शाहीको पहलमा बिहीबार बसेको सर्वदलीय बैठकले तत्काल अधिवेशन बोलाउन प्रदेश सरकारलाई अनुरोध गरेको थियो । प्रदेश सरकारले आगामी असार १ गते बजेट तथा त्यसको कम्तीमा एक साताअघि वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । प्रतिपक्षी एमाले संसदीय दलका नेता यामलाल कँडेलले सरकारले संसद् अधिवेशन बोलाउन ढिलाइ गर्दा यसपटक प्रि–बजेट छलफल हुन नसकेको बताउनुभयो । सरकारले भने कोरोना महामारीका कारण समयमै अधिवेशन बोलाउन नसकिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर