स्याउका बिरुवा रोप्न १४ हजार डोका गोठेमल १८ लाखमा खरिद — OSNepal

स्याउका बिरुवा रोप्न १४ हजार डोका गोठेमल १८ लाखमा खरिद

LC (KTM) May 11, 2021 0

खलङ्गा, २८ वैशाख – जुम्लाको गुठीचौर एग्रो फार्मले स्याउ बगैँचामा प्रयोग गर्नका लागि यहाँका किसानबाट रु १८ लाखको गोठेमल खरिद गरेको छ । सबै किसानबाट १४ हजार डोका गोठेमल किसानबाट खरिद गरिएको एग्रो फार्मका सञ्चालक मीमबहादुर भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “३० हजार स्याउका खाल्डामा प्रयोग गर्न किसानबाट गोठेमल खरिद गरिएको छ । फार्ममा ३० हजार फुजी स्याउका बिरुवा आउने जेठ महिनाको १५ गतेसम्म लगाइसक्ने योजना बनाएका छौँ ।” स्याउका बिरुवा रोप्ने कार्य शुरु भएको सो फार्मका सञ्चालक भण्डारीले बताउनुभयो । विगतका वर्षमा किसानले उत्पादन गरेको गोठेमल प्रयोग नभएपछि खेर जाने गथ्र्यो । यस वर्षदेखि अवस्था फरक बनेको छ । किसानले उत्पादन गरेको गोठेमल फार्मले खरिद गरेपछि यहाँका किसानलाई आर्थिक उन्नतिमा केही सहज भएको स्थानीयवासी विष्णु धितालले बताउनुभयो ।

किसानले गोठेमल बिक्री हुन्छ भनेर सोचेका पनि थिएनन् । फार्मले मल खरिद गरेपछि किसान भने खुशी भएका छन् । प्रत्येक किसानको घरमै पुगेर फार्मले गोठेमल खरिद गरेको फार्मका सञ्चालक भण्डारीले बताउनुभयो । फार्मका लागि आवश्यक पर्ने गोठेमल गुठीचौर एग्रो फार्मले किसानबाट खरिद गरेको हो । फुजी स्याउका बिरुवा लगाउनुपूर्व खनिएका खाल्डामा मल प्रयोग गर्नका लागि किसानबाट गोठेमल खरिद गरिएको एग्रो फार्मले जनाएको छ । माटोमा फसफोरसको कमी भएकाले रु सात लाखको बोनमल पनि फार्मले खरिद गरेको छ । स्याउका बिरुवाका लागि रु २५ लाखको मल खरिद गरेको फार्मका व्यवस्थापक केसी भण्डारीले बताउनुभयो ।

ठूलो परिमाणमा किसानबाट मल खरिद गरिएको छ । गाई, गोरु र भैँसीको हड्डी कुहाएर बनाइएको बोनमल फार्ममा प्रयोग भएको छ । जलजलामा १५० हेक्टर जमिनमा देशको सबैभन्दा ठूलो फुजी स्याउको बगैँचा निर्माण हुन लागेको सञ्चालक भण्डारीले बताउनुभयो । व्यक्तिगत लगानीमा देशकै ठूलो स्याउ बगैँचा भण्डारीले निर्माण गर्नुभएको हो ।

सञ्चालक भण्डारीले भन्नुभयो, “बगँैचा निर्माणका लागि रु आठ करोड खर्च भएको छ ।” बीस वर्षको उमेरदेखि जडीबुटी व्यापारमा संलग्न भण्डारी ४८ वर्षको उमेरमा कृषि क्षेत्रमा फर्कनुभएको छ । झण्डै २८ वर्षपछि भण्डारी कृषि क्षेत्रमा जोडिनुभएको हो ।

सो स्याउ बगैँचा कृषि स्रोत केन्द्रका रूपमा स्थापित हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वन एकाइ जुम्लाका प्रमुख नमराज भण्डारीले बताउनुभयो । जिल्लामा झण्डै तीन हजार ४५० हेक्टरमा स्थानीय जातको स्याउ उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । पछिल्लो समयमा जिल्लाका किसान फुजी जातको स्याउ व्यावसायिक खेतीमा आकर्षण भएका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर