जनप्रतिनिधि र नेताकै इँटा उद्योगमा बालश्रम — OSNepal

जनप्रतिनिधि र नेताकै इँटा उद्योगमा बालश्रम

LC (KTM) March 27, 2022 0

कपिलवस्तु, १२ चैत-कपिलवस्तुका जनप्रतिनिधि र राजनैतिक दलका नेताहरूका इँटा उद्योगमा बालश्रमिक प्रयोग भएका छन् । जनप्रतिनिधि तथा नेताकै इँटा उद्योगमा बालश्रमिक देखिएपछि सरोकारवालाले स्थानीय संघ संस्था, जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्तासहितको संलग्नतामा इँटा उद्योगमा अनुगमन थालेको छ ।

अनुगमनका क्रममा कपिलवस्तुको महाराजगन्ज र शिवराज नगरपालिकामा रहेका इँटा उद्योगहरूमा धेरै बालबालिका प्रयोग भएको फेला परेको छ । शिवराज, बुद्धभूमि, महाराजगन्ज, कृष्णनगर नगरपालिकाभित्रका इँटा उद्योगमा अनुगमन गरेको र बालश्रमिक धेरै फेला परेको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले बताइन् । ‘महाराजगन्ज नगरपालिकाका जनप्रतिनिधिहरूले सञ्चालन गरेको इँटा उद्योगमै बालश्रमिक रहेका छन् । यता, शिवराज नगरपालिकामा गरेको अनुगमनमा राजनैतिक दलका नेता र उद्योग वाणिज्य महासङ्घका पदाधिकारी कै इँटा उद्योगमा बाल श्रमिक भेटिएको छ ।’ अनुगमनकर्ता तथा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश सदस्य चिन्ता परियारले भनिन् ।

अनुगमनका क्रममा महाराजगन्ज नगरपालिकाका उपमेयर सुभावती कुर्मीले इँटा उद्योगमा बालश्रम रोक्न नगरपालिकाले योजना अगाडि बढाउने बताइन् । उपमेयर कुर्मी आफै पनि इँटा उद्योगकी सञ्चालिका हुन् । उद्योगमा काम गर्ने भारतीय कामदारका बालबालिका विद्यालय नगई उद्योगमा काम गर्ने अवस्थामा भेटिएको थियो । केही नेपाली कामदारमा बालबालिका समेत बाल श्रमिक रहेका छन् ।

उद्योगमा कोही नयाँ व्यक्ति देखियो भने यस्ता बालबालिकालाई रोक्न लगाउने र अरू बेला व्यवसायिले काममा लगाउँदै आएका छन् । बालबालिकाहरू काँचो इँटा ओसार्ने, माटो बोक्ने, फ्रेममा राखेर इँटा बनाउने जस्ता काममा प्रयोग हुने गरेका छन् ।

गत वर्ष दलित मानव अधिकार समितिले चारवटा पालिकामा गरेको सर्वेक्षणमा सात सय ५० भन्दा धेरै बालश्रमिक इँटा उद्योगमा कामदारको रूपमा फेला पारेको थियो । यस वर्ष त्यो संख्या घटेर पाँच सयको हाराहारीमा रहेको अध्यक्ष परियारले दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर