जिल्ला शिक्षा कार्यालयमार्फत विनियोजित बजेटबाट निर्माण सुरु गरिएका दर्जनौँ विद्यालय भवन अलपत्र — OSNepal

जिल्ला शिक्षा कार्यालयमार्फत विनियोजित बजेटबाट निर्माण सुरु गरिएका दर्जनौँ विद्यालय भवन अलपत्र

LC (KTM) March 27, 2022 0

खोटाङ, १३ चैतः आर्थिक वर्ष २०६९÷७० देखि आर्थिक वर्ष २०७२÷७३ को बीचमा साविकको जिल्ला शिक्षा कार्यालयमार्फत विनियोजित बजेटबाट निर्माण सुरु गरिएका दर्जनौँ विद्यालय भवन अलपत्र परेका छन् । आर्थिक अनियमितता, विद्यालय व्यवस्थापन समिति र शिक्षकको आन्तरिक द्वन्द्व, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलगायतका कारण निर्माणको काम अलपत्र परेको हो ।

दुई वर्षमा पूरा गर्नेगरी आर्थिक वर्ष २०७१÷७२ मा रु २४ लाखको लागतमा निर्माण सुरु गरिएको बडहरेस्थित लक्ष्मी माविको चारकोठे भवन अलपत्र छ । जग उठाएर टाई बिमसम्मको काम तोकिएअनुसारको नभएपछि सो विद्यालय भवनको काम हालसम्म अलपत्र परेको स्थानीय बासिन्दाले बताएका छन् । यसैगरी आव २०७०÷७१ मा रु २४ लाखको लागतमा निर्माण सुरु गरिएको बतासेस्थित जनता माविको चारकोठे भवनको काम हालसम्म अलपत्र छ । भवन निर्माणका लागि सबै भुक्तानी लगिसके पनि भवनको पहिलो तला ढलान गरेर दोश्रो तला निर्माणकै क्रममा अलपत्र छोडिएको हो ।

उक्त भवन अलपत्र रहेका कारण तत्कालीन प्रधानाध्यापकले अवकाश पाएको वर्षौँ बित्दासमेत पेन्सन लिने बाटो खुलाइएको छैन । भवन निर्माणमा भएको ढिलासुस्ती र अनियमितता विरुद्ध अख्तियारमा उजुरी परेको छ । आव २०७२÷७३ मारु २४ लाखमा निर्माण सुरु गरिएको छोरम्बुस्थित याङ्सोला माविको पहिलो तला ढलान नहुँदै भवन निर्माणको काम अलपत्र छोडिएको छ । हाल सो विद्यालय भवन निर्माणको बाँकी काम पूरा गर्न विद्यालय परिवारले अग्रसरता देखाएको पाइएको छ ।

आव २०६९÷७० मा २४ लाखको लागतमा दुर्छिमस्थित दुर्छिम माविको चार कोठे भवन निर्माण गरिएको थियो । त्यसमा पनि अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि सो भवनको फिनिसिङदेखि फरफराकको काम हालसम्म अड्किएको छ । आव २०७१÷७२ मा विनियोजित रु २४ लाखको लागतमा च्यास्मिटार माविको चार कोठे भवन ठड्याइयो तर त्यसमा पनि फिनिसिङको काम नहुँदै अख्तियारमा उजुरी परेपछि सो भवनको फरफारक अघि बढ्न नसकेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

आव २०७२÷७३ मा रु ६० लाखको लागतमा निर्माण सुरु गरिएको दुवेकोलस्थित गङ्गोद्वय माविको आठकोठे भवन निर्माणको काम अन्तिम चरणमा पुगेर अलपत्र छोडिएको छ । विद्यालय भवनको संरचना तयार भएपनि फिनिसिङको काम बाँकी नै रहेको स्थानीयवासीले बताएका छन् । आव २०७२÷७३ मारु ६० लाखको लागतमा निर्माण सुरु गरिएको चिप्रिङस्थित सप्तकन्या माविको आठ कोठे भवन फिनिसिङ नहुँदै अलपत्र छोडिएको छ । हाल सो भवनको बाँकी काम पूरा गर्न विद्यालय परिवार लागेकोे जनाइएको छ ।

आव २०७२÷७३ मा रु ६० लाखको लागतमा बाकाचोलस्थित कालिका माविको आठकोठे भवन निर्माण गरिएकामा अख्तियारमा उजुरी परेपछि सो भवन छानबिनकै क्रममा रहेको छ । आव २०७२÷७३ मा रु ४८ लाखको लागतमा खोटाङ बजारस्थित भगवती माविको छ कोठे भवन निर्माण गरिए पनि अनियमितताको आशंकामा अख्तियारमा उजुरी परेको छ ।

अख्तियारले उजुरीको किनारा नलगाए पनि सो भवन भने सञ्चालनमा ल्याइसकिएको छ । रु १९ लाख ५० हजारको लागतमा छितापोखरीस्थित सरस्वती माविको तीनकोठे भवन बनाइए पनि अख्तियारमा उजुरी परेकाले फरफराककै काम हालसम्म अड्किएको जनाइएको छ ।

कतिपय विद्यालयको भवन निर्माणको काम पुरा भएपनि अख्तियारमा परेको उजुरीको किनारा लाग्न नसक्दा फरफराक रोकिएको एकाई प्रमुख सेमन्त गौतमले बताउनुभयो । त्योभन्दा अघि सुरु भएका योजनाको स्थानीय सरकारले प्राविधिक मूल्याङ्कन नगर्दा भवनको फरफारक हुन नसकेको विद्यालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेट लिएर वर्षौँसम्म भवन निर्माण नगर्ने विद्यालयलाई रकम फिर्ता गर्न निर्देशन दिएको जनाइएको छ । भवन निर्माण गर्न बजेट लिएर काम नगर्ने विद्यालयलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यथाशीघ्र रकम फिर्ता गर्न निर्देशन दिएको हो ।

काम सम्पन्न नगरी बाँकी रहेको बेरुजु रकम खातामा दाखिलाका लागि मन्त्रालयले यहि चैत–४ गते उक्त एकाईलाई पत्राचार गरेको जनाइएको छ । बेरुजु भएका विद्यालयको विवरण आफ्नो वेवसाइटमार्फत सार्वजनिक गर्न, बेरुजु भएका विद्यालयलाई बेरुजु फछ्र्यौट नभएसम्म आगामी दिनमा केन्द्रबाट प्रदान गरिने अनुदानका कार्यक्रममा सिफारिस नगर्न, बेरुजु भएका विद्यालयका जिम्मेवार प्रअलाई बेरुजु फछ्र्यौट नभएसम्म पुरस्कार तथा सेवा सुविधाका लागि सिफारिस नगर्न एकाईलाई भनिएको पत्रमा भनिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर