दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह — OSNepal

दक्ष जनशक्ति उत्पादनमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह

LC (KTM) March 28, 2022 0

काठमाडौँ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने संस्था हुन नहुने बताउनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को ३९औँ व्यवस्थापन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भन्नुभयो, “संविधानले प्राविधिक शिक्षालाई वैज्ञानिक, व्यावहारिक र रोजगारमूलक भनेर किटान गरेको छ । सिटिइभिटीले दक्ष, सक्षम र कामकाजी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ ।”

सैद्धान्तिक विषयमा विद्यार्थीले रुचि कम देखाएको बताउँदै मन्त्री पौडेलले प्राविधिक विषयलाई जीवनोपयोगी बनाउने गरी नयाँ कार्यक्रम बनाउन निर्देशन दिनुभयो । सिटिइभिटीले नीतिगत सुधार र देशभर भएका शिक्षालयलाई नियमन गर्नुपर्नेमा मन्त्री पौडेलले जोड दिनुभयो ।

“हिजो र आजको कृषिमा तात्विक भिन्नता छैन”, मन्त्री पौडेलले भन्नुभयो, “हरित कृषि, पशुपालन, पर्यटनलगायत विषयलाई पाठ्यक्रममा समावेश गरी प्राथमिकता दिनुप¥यो ।” देशका केही शिक्षण संस्था राज्यले बनाएको कानुनले अप्ठ्यारोमा परेको बताउँदै त्यसलाई संशोधन गर्दै जानुपर्ने तर्क राख्नुभयो ।

संस्थाले आन्तरिक सङ्गठन, कर्मचारी व्यवस्थापन र संरचनागत सुधारमा ध्यान दिनुपर्ने बताउँदै आगामी १० वर्षसम्म पनि व्यावहारिक हुनेगरी पाठ्यक्रम निर्माण गर्न निर्देशन दिनुभयो । उहाँले मनपरीभन्दा जनघनत्वको मूल्याङ्कन गरी सिटिइभिटीको कार्यक्रम लैजानुपर्ने बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर