होटलमा पनि ढकतराजुको खाँचो परेकै हो ? – OSNepal

होटलमा पनि ढकतराजुको खाँचो परेकै हो ?

Osnepal March 29, 2022 0

अनुसा थापा

नेपालमा सञ्चालनमा रहेका चिया पसलदेखि पाँच तारे होटलसम्म लुटको धन्दा मौलाउदो छ । त्यस्तै, मनोरञ्जनको नाममा खुलेको बार, रेस्टुरेण्ड एण्ड क्लब, दोहोरी साझ र क्याफेहरुले पनि ठगीधन्दा मच्चाएको छ । योसंगैं खाजाघर, गेष्ट हाउस र सेकुवाघरमा पनि थुप्रै विकृति विसङगति मौलाएका छन् । गुणस्तरहीन सामान बेचेर यिनीहरु पुँजीपति बन्नेतिर होडबाजी गरिरहेका छन् । ग्राहकलाई खानयोग्य नभएका सामानहरु बेचेका छन् । बासी खाना बेच्ने, सस्तो चामल पकाउने, बिग्रिन लागेका तरकारीहरु पकाउने, खसीको भनेर बाख्राका मासु दिने गर्दछन् । साथै, मरेका कुखुराका मासु ल्याएर बेच्ने यसरी जनताको स्वास्थ्यमाथि खेलबाड भइरहेको छ । यस्ता खानलायक भएको वस्तुहरु पनि मँहगोमा बिक्रीवितरण गरिरहेका यी व्यवसायीहरु । बाहिरी जिल्लाबाट आएकालाई त बास बस्नुपर्यो । तर, साधारण होटल, गेष्टहाउस र लजको शुल्क तिर्नसक्ने स्थिति पनि छैन् । एकरात काटेको पाँचसयदेखि तीन हजार शुल्क बुझिहाल्छन् । अर्कोतिर खानाको पैसा छुट्टै तिर्नुपर्छ । एउटा फोहोरी कोठा, ओढ्ने ओछ्याउने पनि सफासुग्घर हुदैन् । वषौंदेखि सफा नगरिएको जस्तो देखिने कोठालाई यत्रो शुल्क तिर्नुपर्छ ।

कोठा यत्रो तिरेपनि खानाको शुल्क भने छुट्टै तिर्नुपर्छ । साधारण खाना खाएको तीन सय, ननभेज खाना खाएको पाँच सय । आफुखुसी शुल्क उठाउने काम होटल सञ्चालकहरुले गरिरहेका छन् । होटलमा गएर ग्राहकले तिर्ने रेट सरकारले तोकेको होइन् । ग्राहकले यत्रो पैसा तिरेर पनि राम्रो सेवासुविधा पाएका छैनन् । जति पैसा तिरिन्छ त्यसको तुलनामा थोरै मात्र सेवासुविधा ग्राहकले पाइरहेका छन् । होटल सञ्चालकले धेरै रकम असुलेर थोरै र गुणस्तरहीन सामान बेचिरहेका छन् । तौल कम हुदै भने गुणस्तरको नामोनिशान छैन् । ग्राहकहरुलाई पनि आफुले तिरेअनुसार सामान पाएको छ कि छैन् भन्ने ज्ञात हुदैन् । एउटा साधारण चिया पसलको कुरा गरौं । अहिले एक कप चियाको बजार मुल्य तीस रुपैंया पर्न थालिसकेको छ । तर, चिया त प्लास्टिकको कपमा थोरै मात्र पाइन्छ । तापनि त्यसमा दुधभन्दा धेरै त पानी मिसाएको हुन्छ । कुनै खाजाघरमा खाजा खान गयो भने गाजी सबै रित्तिसक्छ तर पेट भरिदैन् । किन कि पैसा तिरेको अनुपातमा सामान निकै नै कम पाइन्छ । मँहगो शुल्क लिएर होटल सञ्चालकहरुले कम तौल सामान बेचिरहेका छन् । यहाँँ पनि जनता ठग्ने काम भएको छ ।

सानो खाजामा छिप्यो भनेपनि एक प्लेट चनाको ५० रुपैंया पर्छ । तर त्यो दुई चम्चामै सकिन्छ । आलु र चिउराको पनि छुट्टै पैसा तिर्नुपर्छ । चना, आलु र चिउरा गरेर डेढसय रुपैंया पर्छ तर खाने मान्छे त भोकै हुन्छ । सरकारले होटल, रेष्टुरेण्टलाई छुट दिदाँ जनता ठगिए । हामी कुनैपनि सामान खरिद गर्दा तौलिएर किन्छौ । होटलमा पनि यही व्यवस्था लागु गर्नुपप्यो । होटल व्यवसायीहरुले पैसा लिइसकेपछि तौलेर सामान बेच्नुपर्छ । होइन् भने जनता ठगिने क्रम जारी नै रहन्छ । सानादेखि ठुला होटलमा ढकतराजुको व्यवस्था गर्नुपप्यो । मनलाग्दी शुल्क लिएर जनता ठग्न पाइदैन् । होटलमा राखेका मेन्युहरु पनि सबै अंग्रेजीमा छन् । नेपालको एकतिहाइ जनताले शिक्षा पाएका छैनन् । तर, होटलमा अंग्रेजीमा मेन्यु राखिदिँदा उनीहरु बेलाबखत अप्ठयारोमा पर्ने गरेका छन् । नपढेका मानिसहरु त होटलभित्र छिर्छन्, खाना खान्छन् । तर, मेन्यु पढ्न नजान्दा उनीहरुले सारै दुःख पाउछन् । खाना खाएको शुल्क आफ्नो गोजीमा भएको रकमभन्दा धेरै निस्किएपछि उनीहरुले के गर्ने ? होटल व्यवसायीहरुले जनता ठग्नका लागि मेन्यु अंग्रेजीमा राखेको हुन् । यसलाई तत्कालै सच्चाएर नेपालीमा बनाउनुपर्छ ।

होटलहरुबाट दैनिक हजारौ ग्राहकहरु ठगिएका छन् । खाजा खान जाने हरेकलाई होटल व्यवसायीले ठगेको पाइन्छ । तर, उजुरीको गर्ने ठाँउको अभावमा ग्राहक चुपचाप बस्नुपर्छ । बढी पैसा लिएर कम सामान दिने होटल व्यवसायीलाई कहाँ गएर उजुरी गर्ने । सरकारले होटल व्यवसायीलाई मापदण्डभित्र नल्याउदा उनीहरुको ठग्ने मनोबल झनै बढेको छ । कतिपय होटल व्यवसायीको दर्ता छैन् । उनीहरुबाट राज्यले राजस्व पाएको छैन् भने जनता ठगिनु ठगिएका छन् । यता, कतिपय होटलहरुले बिहानदेखि बेलुकासम्म मादक पदार्थ बिक्री वितरण गर्दछन् । अरुको स्वास्थ्य बिगार्ने र घरव्यवहार तहसनहस पार्ने काम पनि उनीहरुले गरेका छन् । होटल र गेष्टहाउसहरुले गाँउगाँउबाट नपढेका, आर्थिक कमजोर भएका दिदीबहिनीको शोषण गरिरहेका छन् । थोरै तलब दिएर उनीहरुलाई २४ औ घण्टा काममा दलाइएको छन् । यिनीहरुले आफ्नो फाइदाका लागि ती दिदीबहिनीलाई नचाहिदो काममा प्रयोग गरेको पनि सुनिन्छ । होटलहरुमा नाबालिग र ज्येष्ठ नागरिकहरुले पनि काम गरिरहेको देखिन्छ । सरकारले १६ वर्षमुनिका वालवालिका र ६० वर्ष कटेका ज्येष्ठ नागरिकलाई काम लगाउन नपाउने भनेको छ ।

तर, धेरै होटलहरुले ससाना वालवालिकालाई भाडा माझ्नका लागि राखेको देखिन्छ । त्यसैगरी, यस्ता धेरै ज्येष्ठ नागरिकहरु छन् जो होटलमा टेबल सफा गरिरहेको भेटिन्छन् । उनीहरुले काम गरेबापत तलब पनि पाएका छैनन् । खाएको भरमा उनीहरुलाई काममा लगाइरहेको छ । अधिकांश होटलका किचनहरु एकदमै फोहोर छन् । यता, खाना बनाउने मान्छे पनि निकै फोहोरी । कतिपय होटलमा होटल सञ्चालक आफैले खाना बनाउछ । उनीहरु आफै पनि निकै घिनलाग्दा देखिन्छन् । पानीको अभावका कारणले फोहोर पानीमै भाडा धुने प्रचलन छ । राम्रोसंग सफा नगरेका भाडामा ग्राहकलाई खान दिइएको छ । होटलका भुइँहरु पनि त्यति सफा छैन् । बस्नयोग्य नभएका टेबलकुर्सीहरु हुन्छन् । जहीतही चुरोटका ठुटाबाहेक अरु केही भेटिदैनन् । एकदमै दुर्गन्धित ठाँउमा होटलहरु सञ्चालन गरिएको पाइन्छ । कतिपय होटलले खानेकुरा बेच्छन्, पैसा लिन्छन् तर शौचालयको प्रयोग गर्न दिदैनन् । घरधनीको बहाना बनाउदै उनीहरुले शौचालयको जान दिदैनन् । तर, दिइहाले पनि जान सक्ने अवस्था हुदैन् । होटलजस्तै शौचालय पनि निकै दुर्गन्धित हुन्छ ।

लामो रोडमा चल्ने सवारीले आफ्नो गन्तब्यमा नपुगुञ्जेल धेरै ठाँउमा खाना खानको लागि रोक्छ । चालक र सहचालकले आफुलाई जहाँ फाइदा हुन्छ त्यही गएर रोक्छ । आफ्नो होटलमा मान्छे ल्याइदिएबापत होटल व्यवसायीले चालक र सहचालकलाई राम्रो खान दिन्छन् । तर, यसको मार भने अरु यात्रुलाई पर्छ । यात्रुहरुलाई होटल सञ्चालकले बासीतासी खाना खुवाउछ । त्यस्तै भखरै गाँउबाट आएका र सुकिलामुकिलामा पनि होटल व्यवसायीले निकै भेदभाव गर्दछन् । गाँउबाट आएकोले त्यति नै पैसा तिर्दा उसले न अचार पाउछ न राम्रो बोली व्यवहार । त, सुकिलामुकिलाले अचारसहित मासु र राम्रो बोलीबचन पनि पाउछन् । तर, पैसा त दुवैले बराबर तिरेका हुन् । जसरी कमाएर ल्याएपनि कमाउनुको पीडा त उसलाई थाहा छ । त्यहीपनि होटल सञ्चालकहरुले गरिब, गाँउबाट आएका, खुट्टामा चप्पल लगाएकालाई मान्छे नै गन्दैनन् । अझ रात्रिकालिन व्यवसायीले सबैभन्दा धेरै ठग्छन् । बाहिर तीन सय पर्ने मादक पदार्थलाई उनीहरुले हजारमा बेच्छन् । रात्रीकालिन व्यवसायीको पेशा नै ठग्ने र लुट्ने हो । होटल र रात्रिकालिन व्यवसायीले मनलादी तरिकाले ग्राहक लुटेका छन् । तापनि सरकारले किन अनुगमनमा चासो दिएको छैन् ? जिल्ला प्रशासन कार्यालय र यसको अनुगमन गर्ने निकायहरु कहाँ छन् ? होटर व्यवसायीहरुको अगाडि सरकार लाचार बनेको हो ?

अनुगमन गर्ने निकायहरु आर्थिक प्रलोभनमा परेर यस्ता व्यवसायीहरुलाई छुट दिएको भन्न धेरै बेर लाग्दैन् । सरकारले होटलमा बिक्री भइरहेको खाध सामानहरु खानलायक छ कि छैन् यसको अनुगमन गर्नुपप्यो । खानेकुराको मुल्यपनि सरकार आफैले तोक्नुपर्छ । व्यवसायीको हातमा दिनुहुदैन् । अहिले होटलमा भएका मेन्युहरुमा सरकारी पक्षको छाप छैन् । मेन्युहरु सबै सरकारको लेटरप्याडमा लेखिएको हुनुपर्छ । सरकारी निकायको फोन नम्बर पनि मेन्युमा उल्लेख गर्नुपर्छ । आफ्नो फाइदाका लागि खानेकुरामा विभिन्न केमिकलसमेत मिसाइएको हुन्छ । जसको कारण सर्वसाधारणहरुको स्वास्थ्यमाथि खेलबाड भइरहेको छ । खानकै कारणले ऊ रोगी बन्छ । यसको जिम्मेवारी कसले लिने ? स्वदेशीदेखि विदेशीलाई ठग्ने काम यिनीहरुद्धारा भइरहेको छ । तापनि सरकार चाल नपाएझै बसिरहेको छ । न सरकारले यस्ता होटल व्यवसायीलाई अनुगमन गरेर कारबाही गर्छ । न राजस्व उठाउनलाई सरकार सफल बनेको छ । होटल व्यवसायीको अगाडि सरकार लम्पसार परेको छ । यिनीहरुको ठगी रोक्न जनता आफैपनि जागरुक हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर