उद्योगमा विद्युत् कटौतीले उत्पादनमा ६० प्रतिशत कमी — OSNepal

उद्योगमा विद्युत् कटौतीले उत्पादनमा ६० प्रतिशत कमी

LC (KTM) March 30, 2022 0

मोरङ-मोरङ व्यापार सङ्घले नेपाल सरकारसँग सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रमा विद्युत्को नियमित आपूर्तिका लागि आज यहाँ आग्रह गरेको छ । मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ प्रदेश १ द्वारा ‘वर्तमान विद्युत् सङ्कटका’ सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणले सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा विगत एक हप्तादेखि गरेको विद्युत् कटौतीका कारण उत्पादनमा ६० प्रतिशत कमी आएको जनाइएको छ ।

व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले औद्योगिक क्षेत्रमा यही चैत ८ गतेदेखि दैनिकरूपमा बेलुकीको समयमा विद्युत् कटौती गरेकाले उत्पदनमा कमीका साथै उद्योग बन्द गरी मजदुरलाई रोजगारीविहीन बनाउनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।उहाँले उद्योगधन्दाबाट सरकारले प्राप्त गर्ने राजस्वमा समेत ह्रास आउनुका साथै बैंक तथा वित्तीय संस्थालाई ब्याज तथा साँवा बुझाउन नसक्ने अवस्था आएको धारणा राख्नुभयो । औद्योगिक करिडोरमा दैनिक २०० मेघावाट विद्युत् आवश्यक रहेको छ ।

अध्यक्ष रिजालले विद्युत्सम्बन्धी समस्या समाधान नभएमा सम्पूर्ण उद्योग बन्द गरी सरकारलाई चाबी बुझाउन उद्यमी बाध्य हुने जानकारीसमेत दिनुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बेलुकीको समयमा दैनिक छ घण्टा विद्युत् कटौतीमा प्राधिकरणलाई सहयोग गर्ने बताउँदै मुलुकको अर्थतन्त्र जोगाउन यस क्षेत्रमा विद्युत्को नियमित व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

उद्योग सङ्गठनका पूर्वअध्यक्ष पवन शारडाले नेपाली उत्पादन श्रीलङ्का र बङ्गलादेश निर्यातमा विद्युत् कटौतीले बाधा उत्पन्न गर्नुका साथै उद्योगमा थप स्वदेशी लगानीमा समस्या आउने जनाउनुभयो । परिसङ्घका अध्यक्ष भीम घिमिरेले मुलुकको समस्याग्रस्त अर्थतन्त्र जोगाउन औद्योगिक क्षेत्रमा हुने विद्युत् कटौती अविलम्ब हटाउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर