आजदेखि विक्रमबाबा मेला सुरु — OSNepal

आजदेखि विक्रमबाबा मेला सुरु

LC (KTM) April 01, 2022 0

चितवन, १८ चैत-हरेक वर्ष चैते दसैँको समयमा मनाइने विक्रमबाबा मेला आजदेखि सुरु भएको छ । कोरोना कहरका कारण विगत दुई वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला आज देखि सुरु भएको हो ।निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा पूजाआजा गरी परेवा उडाएर औपचारीक रुपमा मेलाको सुरुआत गरिएको छ । केरुङ्गा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेलका अनुसार दुई वर्षसम्म रोकिएको मेला सुरु भएसँगै भक्तजनको चाप बढेको छ ।

आगामी वैशाख ३ गतेसम्म लाग्ने विक्रमबाबा मेलामा केरुङ्गा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले पूजाको व्यवस्थापन गर्ने छन् भने घैलाघारी सामुदायिक वनले पार्किङ्को व्यवस्थापन गर्ने छ । पटिहानी उपभोक्ता समितिका उपाध्यक्ष कृष्णहरि शर्माले विक्रमबाबा मेलामा आउने भक्तजनको चापलाई मध्यनजर गर्दै व्यवस्थापनको काम गरिएको बताउनुभयो ।

दुई वर्षदेखि हुन नसकेको मेला अहिले हुन लाग्दा भक्तजनको चाप बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसवर्ष मेला भर्न वा पूजा गर्न आउने भक्तजनको सङ्ख्या पाँच लाख हुने अनुमान गरेका छाँै ।” पूजा व्यवस्थापनका लागि १० सदस्यीय समिति बनाइएको उहाँले जानकारी दिनुभयो ।

मन्दिरमा पूजा गर्नका लागि बिहान ६ बजे देखि साँझ ५ बजेसम्म समय तोकिएको छ । साँझ ५ बजेपछि जङ्गली जनाबरको चहलपहल हुने भएकाले सो समय निर्धाारण गरिएको उहाँको भनाइ छ । मेला सञ्चालन गर्न आउने व्यवसायीलाई साँझ ६ बजेपछि व्यवसाय बन्द गर्न लगाइने घैलाघारी सामुदायिक वनका अध्यक्ष लीलाराज भुषालले बताउनुभयो । मेला व्यवस्थापनका लागि १०१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

आठवटा उपसमिति निर्माण गरी मेला व्यवस्थापनको काम गरिएको छ । उहाँले भन्नुभयो, “सामुदायिक वन क्षेत्रभित्र दिउँसोमा पार्किङ र मेलाको व्यवस्थापन गरिए पनि साँझ ६ बजेपछि मेला बन्द गर्ने गरी निर्णय गरेका छौँ ।” भरतपुरतर्फबाट गएका र माडीतर्फबाट आउने सवारीलाई निकुञ्ज बाहिर पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्जभित्र विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारु जातिमा प्रचलनमा रहेको छ ।

विक्रमबाबाको पूजा परापूर्वकालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ विक्रमबाबाको पूजा गर्ने गरिएको पाइन्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर