साइक्लिङ म्याराथन प्रतियोगिता चैत २६ गते हुने — OSNepal

साइक्लिङ म्याराथन प्रतियोगिता चैत २६ गते हुने

LC (KTM) April 08, 2022 0

चितवन, २५ चैत – प्रज्ञा–स्मृति प्रतिष्ठान नेपालको आयोजना र खेलकुद विकास परिषद् बागमती प्रदेशको साझेदारीमा यही चैत २६ गते साइक्लिङ म्याराथन प्रतियोगिता हुने भएको छ । प्रतिष्ठानले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।

प्रतियोगिताका संयोजक सन्तकुमार दरैले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । नारायणी नदी किनारमा प्रतिष्ठानका संरक्षक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने सो प्रतियोगितामा हालसम्म ८६ जनाले नाम दर्ता गराएका छन् । तीमध्ये १२ जना महिला रहेको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागिता जनाउन नाम दर्ताका लागि आज साँझसम्म समय तोकिएको छ ।

प्रतियोगिता पाँच विधामा हुनेछन् । इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् । १९ वर्ष माथिका साइकल चलाउन जान्ने जो कोही सहभागी हुन पाउने आयोजकले जनाएको छ । प्रथम हुने १९ वर्ष माथिका महिला पुरुषलाई रु ४५ हजारका दरले, ३० वर्ष माथिको विधामा रु २५ हजार, ५० वर्ष माथिको विधामा रु २० हजार र चितवन स्पेशल विधामा महिला पुरुषलाई रु २०÷२० हजार नगद पुरस्कार रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १०औँ स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । भरतपुर महानगरमा निर्माणाधीन रिङगरोडसहितका सडक आयोजना साइकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमासमेत टेवा पु¥याउने साइकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ छ ।

करिब दुई घण्टाको प्रतियोगितामा लगभग ६५ किमी दुरी रहेको छ । नारायणी नदी किनारबाट सुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, ¥यालीसहित पुनः नारायणी किनारमा आई समापन हुनेछ । प्रतियोगितामा विजेता खेलाडीलाई नगद, मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ ।

साथै विभिन्न व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य उद्देश्य क्यान्सर पीडितलाई सहयोग गर्ने रहेको प्रतिष्ठानले जनाएको छ । प्रतियोगिताको कूल बजेट रकम रु ४२ लाख ७३ हजार ३३५ रहेको छ । तीमध्ये विजेता खेलाडीलाई नगद पुरस्कारमा मात्रै रु पाँच लाख ९५ हजार खर्च हुने संयोजक दरैले बताउनुभयो ।

प्रतियोगितामा काठमाडौँसहित हेडौँटा, पोखरा, बारा, पर्सा, एपिएफबाट समेत सहभागिता रहनेछ । बिहान ७ बजे प्रतियोगिता सुरु हुनेछ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधन भएपछि उहाँहरुको स्मृतिमा प्रतिष्ठान बनाएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।

शोकलाई शक्तिमा बदल्दै समाजसेवामा लगाउन प्रतिष्ठान स्थापना भएको र यो पहिलो औपचारिक कार्यक्रम भएकोसमेत उहाँले बताउनुभयो । भरतपुरको रिङरोड अहिले ६६ किलोमिटर रहे पनि चाँडै ८८ किलोमिटर रिङरोडमा म्याराथन हुने पनि उहाँले बताउनुभयो । खेल पर्यटन विकासका लागि म्याराथन आयोजना गरिएको उहाँको भनाइ छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर