डेढ दशकदेखि अलपत्र बनेको सहिद स्मारक सम्पन्न गर्न उच्चस्तरीय समिति — OSNepal

डेढ दशकदेखि अलपत्र बनेको सहिद स्मारक सम्पन्न गर्न उच्चस्तरीय समिति

LC (KTM) April 12, 2022 0

काठमाडौँ, २९ चैत-निर्माण सुरु भएर डेढ दशकदेखि अलपत्र बनेको राष्ट्रिय सहिद तथा निजामती स्मारक सम्पन्न गर्न मुख्यसचिवको संयोजकत्वमा उच्चस्तरीय समन्वय तथा निर्देशन समिति गठन गरिएको छ । समितिमा गृह, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय एवं राष्ट्रिय योजना आयोगका सचिव सदस्य र वन तथा वातावरण मन्त्रालायका सचिव सदस्यसचिवका रूपमा रहनुभएको छ । मन्त्रिपरिषद्को २०६४ जेठ ११ गतेको निर्णयानुसार गोकर्णमा निर्माण सुरु भएको सहिद एवं निजामती स्मारकको काम ६० प्रतिशतभन्दा बढी सम्पन्न भएर अलपत्र अवस्थामा छ । स्मारक निर्माणका लागि सरकारले रु ३० करोडभन्दा बढी खर्च गरिसकेको छ ।

अलपत्र अवस्थामा रहेको संरचना निर्माणमा सहजीकरण गर्न उच्चस्तरीय समिति गठन गरिएको स्मारक यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले राससलाई जानकारी दिनुभयो । राष्ट्रिय सहिद उद्यान निजामती स्मारकको एकीकृत वन व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८ को मस्यौदा तयार पारी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश भएको पनि उहाँले जानकारी दिनुभयो ।निर्देशिका मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ । प्रस्तावित निर्देशिकाबमोजिम समिति अध्यक्ष सिग्देलको संयोजकत्वमा उद्यान निर्माण कार्यदल सहजीकरण तथा कार्यान्वयन समिति पनि गठन गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर