कोरोना सङ्क्रमितको सहयोगका लागि खट्दै म्याग्दीका युवा — OSNepal

कोरोना सङ्क्रमितको सहयोगका लागि खट्दै म्याग्दीका युवा

LC (KTM) June 10, 2021 0

गलेश्वर, २७ जेठ -एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका प्रत्येक प्रायः बस्तीमा कोरोना सङ्क्रमितहरु छन् । बेनी अस्पतालमा उपचारका लागि ल्याइने सङ्क्रमितहरुको बढ्दै गएपछि शुरुमा त यहाँका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवी र विरामीका आफन्तहरु समेत आत्तिने गरेका थिए ।सङ्क्रमितको नजिक जान र सहयोग गर्न आफन्तहरु नै आँट गर्न सक्दैनन् । मनमा माया भएपनि आफैलाई सङ्क्रमण सर्ने डरले सकेसम्म उनीहरु पन्छिनु स्वभाविकै हो । सङ्क्रमणकै कारण मृ त्यु भएकाहरुको अन्त्येष्टी संस्कार हिम्मत भएका केही परोपकारी व्यक्तिहरुको सहयोगमा हुँदै आएको छ ।कोरोना सङ्क्रमितहरुको सहयोग र उद्धारमा खटिएका म्याग्दीका केही युवाहरुको कार्य देख्दा म्याग्देलीमात्र होइन पर्वत र बागलुङबासी पनि उत्प्रेरित छन् । सङ्कटका समयमा यहाँका युवाहरु सुरज केसी, आनन्द रिजाल र जनक सोनामको कार्यको सर्वत्र सराहना गरिएको छ ।

पेशाले केसी शिक्षक, विद्यालय सञ्चालक र रेडक्रसकर्मी हुनुहुन्छ । रिजाल जिल्ला प्रशासन कार्यालयमा सवारी चालक हुनुहुन्छ भने सोनाम बेनी अस्पतालमा करारका कर्मचारी हुनुहुन्छ । बेनीको माउण्ट एभरेष्ट आवसीय माविका स्वास्थ्य र पत्रकारिता विषयका शिक्षक केसीसहित यी तीनजना युवाको उदात्त कार्यले जिल्लावासीको मन जितेको छ ।

उहाँहरु बिहान उज्यालो भएदेखि राती १२÷१ बजेसम्म कोरोना सङ्क्रमितहरुको सेवा, सहयोग र सङ्क्रमित भएकै अवस्थामा मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनमा खट्नुहुन्छ । “अहिलेसम्म २० वटा शवको व्यवस्थापना गरिसकेका छौँ, अस्पतालको शय्यामा मृत्यु भएमा नजिक रहेका विरामीहरुको समेत आत्मबल कमजोर हुने भएकाले हामीले म्याग्दी रेडक्रसले उपलब्ध गराएका स्वास्थ्य सुरक्षाका साधनहरुको प्रयोग गरेर सबैभन्दा पहिला मृतकलाई शय्याबाट बाहिर निकाल्छौँ” केसीले भन्नुभयो– “त्यसपछि मृतकका आफन्तहरुको इच्छाअनुसार दाह (जलाउने) वा स्काभेटरको सहयोगले कालीगण्डकी नदीको छेउमा खाल्डो खनेर अन्त्येष्टि संस्कारको औपचारिकता पूरा गर्दछौँ ।”

“कतिपय सङ्क्रमितका आफन्तहरु विरामीको नजिक जान र विरामीलाई हेर्न नै डराउनुहुन्छ, त्यस्तो अवस्थामा विरामीलाई चाहिने सम्पूर्ण कुराहरु हामीले उपलब्ध गराउनुका साथै होम आइसोलेशनमा रहनुभएका सिकिस्त अवस्थाका सङ्क्रमतिहरुलाई लिन गाडी लिएर उहाँहरुकै घरमा जाने गरेका छौँ” सङ्क्रमितको सहयोग र व्यवस्थापनमा खटिनुभएका अर्का स्वयंसेवक आनन्द रिजालले भन्नुभयो ।स्वास्थ्य सावधानी अपनाएर सङ्क्रमितको जीवनरक्षा र सङ्क्रमित अवस्थामा मृत्यु भएकाहरुको व्यवस्थापनका लागि जुनसुकै बेला सहयोग गर्न तत्पर रहने यी तीन जना युवाहरुका कारण सङ्क्रमितको उपचार र व्यवस्थापनमा अस्पताललाई निकै सहज भएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटवालले बताउनुभयो ।

“उँहाहरुको कामले हामीलाई निकै सहयोग मिलेको छ, स्वाव सङ्कलन गर्नेदेखि लिएर अस्पतालमा उपचाररत सङ्क्रमितहरुको रेखदेख, सङ्क्रमितका आफन्तहरुलाई उचित परामर्श र सङ्क्रमित अवस्थामा मृत्यु भएकाहरुलाई नजिकको सङ्क्रमितको मनोबल कमजोर नहोस् भनेर थाहा नहुने गरी ठाउँ परिवर्तन गर्दै शव व्यवस्थापनसम्म उहाँहरु नै खट्नुभएको छ ।” अध्यक्ष कटुवालले भन्नुभयो “उहाँहरुको सेवा र सहयोगको जति प्रसंशा गरेपनि कम नै हुन्छ ।”बेनी अस्पतालका डा. नवराज बस्ताकोटीले उँहाहरुको खटाइबाट आँफू निकै प्रभावित भएको बताउनुभयो । डा. बस्ताकोटीले भन्नुभयो “यो एउटा अदृश्य शत्रु (भाइरस) सँगको प्रत्यक्ष लडाइँ हो । यस लडाइँका योद्धा हामी सबै हौँ । विशेष गरी उपचारका क्रममा हामीलाई निकै सहज भएको छ । उपचार बाहेक अरु कुनै कुरा हामीले हेर्नु परेको छैन । सबैकाम उहाँहरु (सुरज केसीको टिम) बाट भएको छ ।”

छिमेकी जिल्ला पर्वतको लेकफाँटबाट उपचारका लागि बेनी अस्पतालमा आउनुभएका गोकर्ण सुवेदीले अस्पतालको सेवा र चिकित्सकहरुको व्यवहार देखेर आफूलाई निकै खुशी लागेको बताउनुभयो ।“सरकारी अस्पतालमा उपचारै हुदैन, डाक्टरहरुले विरामीको ध्यान नै दिँदैनन् भन्ने सुनिन्थ्यो तर बेनी अस्पतालमा भने मैले त्यस्तो पाइन” सुवेदीले भन्नुभयो “यहाँ त विरामीको सेवामा चिकित्सकहरु जुनसुकै समयमा पनि तत्पर हुनुहुँदोरहेछ । साथी जस्तो व्यवहार, हसिलो अनुहार र विरामीलाई हरेक समय परामर्श दिनुहुन्छ ।” बेनी अस्पतालको व्यवस्थापकीय पक्ष अत्यन्तै राम्रो रहेको आफूले पाएको उपचारका लागि अस्पतालमा आउनुभएको प्रकाश माध्यमिक विद्यालय बेनीका पूर्व प्रधानाध्यापक शिवकुमार केसीले बताउनुभयो ।

कर्तव्यपरायण एम्बुलेन्स चालक म्याग्दीका गोपी गौतम र केशर शेरपुञ्जाले त ३६ घन्टासम्म पानीमात्र पिएर सङ्क्रमितको सेवा गर्नुभएको छ । “मैले ३६ घण्टासम्म पानी मात्र खाएर पनि एम्बुलेन्स कुदाएको छु । खान खाने समय नै मिल्दैन । बाटोमा हामीलाई देखेर होटलवालाले पनि ढोका बन्द गरे । पानीको भरमा विरामी राखेर एम्बुलेन्स काठमाडौँसम्म पु¥याएको छु’’ बेनी अस्पतालको एम्बुलेन्स चालक गौतमले भन्नुभयो ।‘‘कैयौँ दिनसम्म पनि राम्रोसँग खान र सुत्न पाइएन । निद्रा पनि नभनि एम्बुलेन्स हाँक्नुपर्दथ्यो । साह्रै निद्राले च्यापेर निद्रा भगाउन एकदिन त लगाएको कपडा समेत पानीमा भिजाएर चिसो बनाई लगाइयो’’ रेडक्रस म्याग्दीको एम्बुलेन्स चालक केशर शेरपुञ्जा मगरले अनुभव सुनाउनुभयो,“यस्तो त यो बीचमा धेरै पटक भोगेँ ।”

बेनी अस्पतालले पोखरा र काठमाडौंका अस्पतालमा रिफर गरेका विरामीहरुलाई बोक्ने काम यी एम्बुलेन्स चालकहरुले गरे । अक्सिजनसहितको व्यवस्था भएका यी दुई एम्बुलेन्स विरामीको सेवाका लागि चौबीसै घण्टा कुदे । यस्तै कर्तव्यपरायण र परोपकारी व्यक्तिहरुको मद्दतले अहिले म्याग्दीमा कोरोना सङ्क्रमण घट्दै गएको छ । गत सोमबारसम्म म्याग्दीमा चार हजार आठ सय ६४ जनाको नमूना सङ्कलन भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय १२ रहेको छ भने दुई हजार तीन सय ५० जना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यसैगरी कोभिडकै कारण जिल्ला भित्र ३३ र जिल्ला बाहिरका विभिन्न अस्पतालमा गरी गएको सोमबारसम्म ४९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर