नेपालमा कोरोनापीडितका लागि तमुः समाज बेलायतद्वारा ११ लाख २५ हजार सहयोग — OSNepal

नेपालमा कोरोनापीडितका लागि तमुः समाज बेलायतद्वारा ११ लाख २५ हजार सहयोग

LC (KTM) June 11, 2021 0

लण्डन, २८ जेठ – बेलायतमा परोपकारी संस्थाको रूपमा छवि बनाएको तमुः समाज युकेले नेपालमा कोरोनापीडितका लागि हालै रु ११ लाख २५ हजार सहयोग गरेको छ । समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई रु पाँच लाख २५ हजार, सञ्चारकर्मी रवि लामिछानेको फाउण्डेशनलाई रु तीन लाख र लेखिका एवं जुम्लामा स्वास्थकर्मीका रूपमा काम गर्दै आउनुभएकी राधा पौडेलको फाउण्डेशनलाई रु तीन लाख सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष चित्र गुरुङले जानकारी दिनुभयो ।

तमुः समाज युकेले चन्दामार्फत रकम सङ्कलन गरेको हो । जसको प्रचार–प्रसार अभियान सञ्चालनमा संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । बेलायतमा कोरोना देखिएपछि समाजले यहाँको सरकारी अस्पताललाई एक हजार पाउण्ड बराबरको पिपिइसमेत सहयोग गरेको थियो । त्यस्तै बेलायतमा रहेका नेपाली वृद्धवृद्धालाई पिपिइ वितरण, नेपाली विद्यार्थी र कोरोनाका कारण जागिर गुमाएका करिब ३०० जनालाई खाद्यान्न वितरणसमेत गरेको थियो ।

समाजले गुरुङ समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्न विभिन्न धार्मिक तथा सांस्कृतिक चाडपर्वलाई विशेष महत्वसहित भव्यताकासाथ मनाउँदै आएको छ । यसबाट प्रवासमा रहेका भावी पुस्तालाई आफ्नो मातृभूमि एवं भाषा, संस्कार, संस्कृति र परम्पराबारे सधैँ सचेत रहन सघाएको समाजका संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो । नेपालमा कोरोना देखिएसँगै समाजले काठमाडौँ र पोखरामा गरी दुई ठाउँमा बेरोजगारलाई रु दुई लाख बराबरको खाद्यान्न वितरण गरेको र पटक–पटक गरी कोरोना पीडितका लागि हालसम्म नेपालमा मात्रै रु ३० लाख बराबरको सहयोग गरेको संस्थापक अध्यक्ष गुरुङले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर