बूढानीलकण्ठमा २२ उम्मेदवारले मनोनयन फिर्ता लिए – OSNepal

बूढानीलकण्ठमा २२ उम्मेदवारले मनोनयन फिर्ता लिए

LC (KTM) April 30, 2022 0

काठमाडौँ- काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा २२ उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये २२ उम्मेदवारले शुक्रबार साँझ मनोनयन फिर्ता लिएका हुन् ।

बूढानीलकण्ठ नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईले २२ वडाध्यक्ष एवं वडा सदस्यले मनोनयन फिर्ता लिएको जानकारी दिनुभयो । नगरप्रमुख र उपप्रमुखमा भने कसैले उम्मेदवारी फिर्ता लिएका छैनन् । बूढानीलकण्ठ नगरपालिकाको नगरप्रमुखमा १५ र उपप्रमुखमा छ जनाको उम्मेदवारी परेको थियो । बाइस जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब बूढानीलकण्ठमा ६७ पदका लागि २८६ जना प्रतिस्पर्धामा हुनुहुन्छ ।

बूढानीलकण्ठमा कांग्रेसबाट नगरप्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, नेकपा (एमाले)बाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा, नेकपा (माओवादी केन्द्र)बाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी र उपप्रमुखमा कमला गौतमले उम्मेदवारी दिनुभएको छ ।

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा एमालेका उद्धव खरेल र उपप्रमुखमा एमालेकै रमादेवी राई निर्वाचित हुनुभएको थियो । उक्त नगरपालिकामा १३ वडा रहेका छन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement